लागूऔषध बरामद प्रकरण : वाइसीएलले बरामदको प्रशंसा गर्दैन मुख्य कारोबारी नउम्काउन दियो चेतावनी

बिर्तामोड , २ साउन / नेकपा माओवादी केन्द्रको युवा संगठन योङ्ग कम्युनिष्ट लीग (वाइसीएल) नेपालले प्रहरीले झापाको बिर्तामोडमा ठूलो परिमाणमा लागूऔषध बरामद गरेको घटनाको प्रशंसा गरेको छ ।
शुक्रबार विज्ञप्तिमार्फत वाइसीएल नेपाल बिर्तामोड नगर कमिटीले उक्त लागूऔषध बरामद गरेको कार्यको प्रशंसा गर्दै मुख्य कारोबारी नउम्काउन चेतावनी दिएको छ ।

वाइसीएलले मुख्य कारोबारी भानुभक्त खरेललाई पक्राउ गर्न प्रहरीले देखाएको उदासिनताप्रति गम्भीर आशंका पैदा भएको जनाएको छ ।
वाइसीएल बिर्तामोड नगर कमिटीका अध्यक्ष सेवन दर्नालद्वारा हस्ताक्षरित विज्ञप्तिमा वाइसीएलले यस घटनालाई नजिकबाट नियालिरहेको उल्लेख गर्दै कामदार फसाएर मुख्य कारोबारी उम्काउन खोजेको हो कि भन्नेमा सशंकित रहेको जनाएको छ ।
‘झापामा पछिल्लो समय लागूऔषधको कारोबार व्यापक रुपमा बढिरहेको अवस्थामा बिर्तामोड ५ मंगलदीप टोलस्थित मनकुमार संग्रौलाको दुई तले घरको भुईतलाको दुईवटा कोठामा भण्डारण गरेर राखेको औषधिजन्य प्रतिबन्धित लागू औषध बरामद गरिनु राम्रो पक्ष हो । नेकपा माओवादी केन्द्रको भातृ संगठन योङ कम्युनिष्ट लीग, नेपाल बिर्तामोड नगर कमिटि यो कामको प्रशंसा गर्दछ । तर, लागूऔषधको मुख्य कारोबारीका रुपमा रहेका भानुभक्त खरेललाई पक्राउ गर्न प्रहरीले देखाएको उदासिनता प्रति गम्भिर आंशका पैदा भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘आज समाज लागूऔषधले आक्रान्त बनिरहेका बेला एक सचेत संगठनको हिसाबले योङ कम्युनिष्ट लीग, नेपाल बिर्तामोड नगर कमिटि यस्ता बेतिथी विरुद्ध कडा रुपमा उत्रने चेतावनी दिन चहान्छ । यदि यस्ता घटनामा दोषी उम्काउने तथा निर्देष फसाउने खेल भएमा योङ कम्युनिष्ट लीग, नेपाल बिर्तामोड नगर कमिटि सशक्त प्रतिकारमा उत्र्ने चेतावनी दिन चहान्छौं । यस्ता घटनामा कुनै राजनीतिक संरक्षण तथा सत्ताको दुरुपयोग भएको पाइएमा त्यस्ता कार्यक्रको भण्डाफोर गर्ने चेतावनी दिन चहान्छौं ।’
