डि कौडिन्य स्मृति पत्रकारिता पुरस्कारबाट उद्धव पुरी सम्मानित

विर्तामोड , ७ साउन / डि कौडिन्य स्मृति पत्रकारिता पुरस्कार–२०८२ बाट पत्रकार उद्धव पुरी सम्मानित हुनुभएको छ ।
प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति झापाले जनपक्षिय पत्रकार देवराज आचार्य (डि कौडिन्य ) को नामबाट स्थापना गरेको डि कौडिन्य स्मृति पत्रकारिता पुरस्कारबाट यस वर्ष पत्रकार पुरी सम्मानित हुनुभएको हो ।

प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति झापाले डि कौडिन्यको स्मृतिमा आज बुधबार बिर्तामोडमा आयोजित कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि युवा नेता तथा माओवादी केन्द्रका केन्द्रिय सदस्य रन्जित तामाङ्ग , डि कौडिन्यकी धर्मपत्नी यमुना आचार्य , माओवादी केन्द्रका प्रदेश उपाध्यक्ष मणीकुमार साङ्पाङ (विजय) , नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गीरी लगायातले दुई दशकदेखि सक्रिय पत्रकारिता गर्दै आउनुभएका बिर्तामोडबाट प्रकाशित शब्दपत्र डटकमका सञ्चालक/ सम्पादक पुरीलाई सम्मान पत्रबाट सम्मान गर्दै नगद ४२ हजार पुरस्कार प्रदान गर्नुभएको छ ।

२०५९ साल साउन ७ गते आचार्यसहित शंकर घिमिरे र खगेन्द्र दंगाललाई तत्कालीन शाही नेपाली सेनाले बर्वरता पुर्वक हत्या गरेको थियोे । जनपक्षीय पत्रकार आचार्यको स्मृतिमा यो पुरस्कार स्थापना भएको हो ।
उक्त पुरस्कारको राशी यसैबर्षबाट २१ हजारबाट दोब्बर बनाइएको हो । यसअघि यस पुरस्कारबाट पत्रकारहरु चन्द्र भण्डारी, लीला बराल, गञ्जबहादुर दाहाल, बिमल लामिछाने, केशव भट्टराई, जीएन शर्मा, लीलाराज झापाली, झुलन रेग्मी, दिपक अधिकारी लगायात सम्मानित तथा पुरस्कृत भईसक्नु भएको छ ।

कार्यक्रमकै अवसरमा प्रेस सेन्टरका प्रदेश सदस्य आईपी भट्टराईले डि कौडिन्य पत्रकारिता पुरस्कारको कोष अभिवृद्धिका लागि ५५ हजार ५ सय ५५ रुपैँया प्रदान गर्नुभएको थियो भने राजन चिमरियाले ३१ हजार रुपैयाँ प्रदान गर्नुभएको थियोे । भट्टराई , चिमरिया सहित अन्य दाताहरुलाई समेत कार्यक्रममा सम्मान गरिएको थियो । प्रेस सेन्टर झापाका अध्यक्ष पुष्प खडकाको अध्यक्षतामा भएको कार्यक्रमको सन्चानन सचिव प्रकाश उप्रेती र सहसचिव राजन साम्पाङ्ग द्वयले गर्नुभएको थियो ।
