झापा, २७ साउन / मोबाइलको विभिन्न पार्टपुर्जासहित एक गाडी र चालकलाई झापाको मेचीनगरबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।

आज (मंगलबार) दिउँसो इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर ६ स्थित भन्सार गेट अगाडि भारतबाट नेपालतर्फ आउँदै गरेको डब्लुबी २६ के ०७४६ नम्बरको सवारी साधनलाई जाँच गर्दा गाडीको पछाडिको डिक्कीमा लुकाइ ल्याइएको मोबाइलको पार्टपुर्जा फेला पारेको हो ।

गाडी चालक पश्चिम बंगाल सिलिगुडीस्थित शिवनगर कोलोनी प्रधाननगर निवासी २८ वर्षीय राज ठाकुर रहेको प्रहरीले जनाएको छ । गाडीसहित सामानको मूल्यांकन १४ लाख ३० हजार गरिएको छ भने गाडी, चालक र सामानलाई आवश्यक कारबाहीका लागि मेची भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।