सिम्रिक बचत तथा ऋण सहकारी संस्थाको चौथो इकाइगत साधारणसभा सम्पन्न

सुरुङ्गा , ६ असोज / सिम्रिक बचत तथा ऋण सहकारी संस्थाको चौथो इकाइगत साधारणसभा सम्पन्न भएको छ ।
झापाको कनकाईमा आज सोमबार संस्थाको १५ औँ साधारणसभा अन्तर्गत चौथो इकाइगत सभा सम्पन्न भएको हो । संस्थाका अध्यक्ष सुभाष भट्टराईले इकाइगत साधारणसभाको उद्घाटन गर्नुभएको थियो ।
इकाइगत साधारणसभामा १० जनालाई सम्मान गरिएको छ । कार्यक्रममा पाँच जना उत्कृष्ट बचतकर्ता र पाँच जना उत्कृष्ट ऋणीलाई सम्मान गरिएको हो ।

उत्कृष्ट बचतकर्तातर्फ विष्णुप्रसाद दाहाल, प्रदिपकुमार दास, रविन रसाइली, तेजबहादुर प्रधान र सोमबहादुर लिम्बुलाई सम्मान गरिएको छ । त्यस्तै, उत्कृष्ट ऋणीतर्फ निरमाया राई, चित्रमान रसाइली, आशाकुमारी चौधरी, मनिष ठाकुर र निर्मला खपाङ्गीलाई सम्मान गरिएको छ ।

संस्थाका कार्यकारी प्रमुख कमलबहादुर बस्नेतका अनुसार ४६ वटा सेवा केन्द्र रहेको संस्थाको हरेक सेवाकेन्द्रबाट एक जना उत्कृष्ट बचतकर्ता र एक जना उत्कृष्ट ऋणीलाई सम्मान गरिनेछ ।
संस्थाले गत आर्थिक वर्षमा उत्साहजनक उपलब्धि हासिल गरेको कार्यकारी प्रमुख बस्नेतले बताउनुभयो । गत आर्थिक वर्षमा ३८ करोड बढी वासलात वृद्धि भएर ३ अर्ब ३३ करोड पुगेको कार्यकारी प्रमुख बस्नेतले जानकारी दिनुभयो । संस्थामा हाल ६९ हजार भन्दा बढी सेयर सदस्य रहेका छन् ।
संस्थाले गत आर्थिक वर्षमा १ करोड ३९ लाख रुपैयाँ सामाजिक उत्तरदायित्व अन्तर्गत खर्च गरेको संस्थाका कार्यकारी प्रमुख बस्नेतले बताउनुभयो । संस्थाले सदस्यहरूलाई स्वास्थ्य उपचार, कर्जा मिनाहा, काजक्रिया खर्चबापत लाखौँ रुपैयाँ खर्च गरेको जनाएको छ।

इकाइगत साधारण सभामा लक्ष्मीपुर सेवा केन्द्रका सेयर सदस्य गोविन्दराज कडेलको निधन भए पश्चात् उहाँको नाममा रहेको कुल ऋण रकममध्ये २ लाख २९ हजार ७६ रुपैयाँ ५२ पैसा रकम मिना गरिएको पत्र उहाँकी छोरीलाई संस्थाका अध्यक्ष सुभाष भट्टराई लगायतले हस्तान्तरण गर्नुभएको थियो ।
इकाइका साधारण सभाले १० जना प्रतिनिधि छनोट गरेको छ । चौथो इकाइको साधारण सभा अन्तर्गत लक्ष्मीपुर सेवा केन्द्र, कामाटोली सेवा केन्द्र, सुरुङ्गा सेवा केन्द्र, दुधे सेवा केन्द्र र शिवगञ्ज सेवा केन्द्रका शेयर सदस्यहरूको उपस्थिति रहेको थियो ।
इकाइगत साधारणसभाको सञ्चालन संस्थाका जनसम्पर्क अधिकारी प्रेम बस्नेत विजयले गर्नुभएको थियो ।
