नारायणी मेमोरियल फाउन्डेसनद्वारा ४ जना अग्रज सम्मानित , ४४ बिद्यार्थीलाई छात्रवृत्ति

ठोस खबर , ११ असोज / नारायणी मेमोरियल फाउन्डेसन कनकाई ४ ले पाचौं साधारणसभाको अवसर पारेर ४ जना अग्रजलाई सम्मान साथै ४४ जना बिद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ ।

कोभिड महामारीको समयमा २०७८ साल जेठ ८ गते कोभिडकै कारण निधन हुनुभएको स्वर्गीय नारायणी पाठकको स्मृतिमा स्थापना भएको नारायणी मेमोरियल फाउन्डेसनले शनिवार कनकाई ४ को जेष्ठ नागरिक भवनमा साधारणसभा गर्दै समाजका अग्रजलाई सम्मान साथै झापा जिल्लाका विभिन्न बिद्यालयका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको हो ।
फाउन्डेसनबाट सम्मानित हुनेमा अग्रज जेष्ठनागरिक यामनाथ बिमली र डिल्लीराम सेलवाल शिक्षासेवी चन्द्रप्रसाद मैनाली र कानुनविद् वरिष्ठ अधिवक्ता हरि उप्रेती रहनु भएको छ । उहाहरुलाई फाउन्डेसनका अध्यक्ष तथा कार्यक्रमका अध्यक्ष वरिष्ठ अधिवक्ता नरेन्द्र प्रसाद पाठक र सल्लाहकार तिलचन्द्र उप्रेतीले दोसल्ला र सम्मान पत्रबाट सम्मान गर्नु भएको थियोे ।

कार्यक्रममा फाउन्डेसन स्थापना भए यता हरेक बर्ष पुर्वका ४ जिल्ला झापा , मोरङ्ग , तेह्रथुम र ताप्लेजुङमा बितरण गर्दै आएको शैक्षिक छात्रवृत्ति अन्तरगत झापामा वितरण गरिने छात्रवृत्ति समेत वितरण गरिएको थियोे । जस अन्तर्गत झापाका बिभिन्न पालिकाका बिद्यालयबाट छनौटमा परेका ४४ जना बिद्यार्थीलाई फाउन्डेसन अन्तरगत रहेर अक्षयकोष स्थापना गर्नुहुने ४० भन्दा बढी दाताहरुले छात्रवृत्ति प्रदान गर्नु भएको थियो ।

यो छात्रवृत्ति पहिलो बर्ष २५ जना विद्यार्थीबाट सुुरु गरिएको, अहिले ८४ जना विद्यार्थीलाई दिईदै आएको र हरेक बर्ष छात्रवृत्ति पाउने बिद्यार्थी संङ्या थपिदै जाने फाउन्डेसनका सचिव अधिवक्ता प्रदिप पाठकले जानकारी दिनुभएको छ । छात्रवृत्ति प्राप्त गर्नुहुने सफल विद्यार्थीलाई कक्षा ६ बाट सुरु गरी कक्षा १२ पास गर्दा सम्म हरेक बर्ष निरन्तर छात्रवृत्ति प्रदान गरिने पनि सचिव पाठकले वताउनु भएको छ ।

साधारणसभामा फाउन्डेसनको बार्षिक प्रतिवेदन सचिव प्रदिप पाठकले प्रस्तुत गर्नु भएको थियोे भने आर्थिक प्रतिवेदन कोषाध्यक्ष टंक पाठकले प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा फाउन्डेसनले छैटौं प्रकाशनको रुपमा प्रकाशन गरेको फाउन्डेसनको सम्पुर्ण गतिविधि समेटिएको नारायणी मेमोरियल फाउन्डेसन बुलेटिन २०८२ को लोकार्पण समेत गरिएको थियोे ।

फाउन्डेसनका संरक्षक , सल्लाहकार , अक्ष्ययकोष दाता , सामजसेवी , शिक्षासेवी बिद्यार्थी , अभिभावक , फाउन्डेसन परिवार लगायतको उपस्थितिमा भएको कार्यक्रममा शिक्षक चिरञ्जीवी पाण्डे , कनकाई बहुमुखी क्याम्पसका प्रमुख विकास प्रसाद उप्रेती , कनकाई प्रतिभा प्रतिष्ठानका अध्यक्ष जिवनाथ सुवेदी , सम्मानित ब्यक्तित्व वरिष्ठ अधिवक्ता हरि उप्रेती लगायतले फाउन्डेसनले गर्दै आएको सामाजिक कार्यको प्रशंसा गर्दै निरन्तर सफलताको शुभकामना व्यक्त गर्नु भएको थियोे ।

कार्यक्रममा छात्रवृत्ति प्राप्तगर्ने बिद्यार्थी झरना भट्टराईले कविता प्रस्तुत गर्नुभएको थियो भने नारायणी मेमोरियल फाउन्डेसनका कलाकारहरू कञ्चन तामाङ र कुशुम घिमिरेले स्वागत गीत मार्फत स्वागत गर्नुभएको थियो ।
फाउन्डेसनका अध्यक्ष वरिष्ठ अधिवक्ता नरेन्द्र पाठकको अध्यक्षतामा भएको कार्यक्रमको संचालन नारायणी मेमोरियल फाउन्डेसन छात्रवृत्ति कोषका सचिव रामकुमार पाठकले गर्नुभएको थियो ।
