भोजपुर / टेम्केमैयुङ गाउँपालिका–३, भोजपुरस्थित अन्नपूर्ण माध्यमिक विद्यालयमा ‘बलजफ्ति भन्दा अनुनयन राम्रो: जेन जि संस्करण’ शीर्षकको मानव सम्मान सिद्धान्त सम्बन्धी कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
स्टुडेन्ट्स फर लिबर्टीकाे अयोजनामा कार्तिक २६ मा सञ्चालन भएकाे कार्यक्रममा “चोरी र हिंसाले सधैं सुख, सद्भाव र समृद्धिलाई कम गर्छ” भन्ने मूल विश्वासलाई आधार बनाएर मानव सम्मान सिद्धान्तलाई परिचित गराइएको छ ।
कार्यक्रमको सुरुवात मानव सम्मान सिद्धान्त, शान्ति, स्वैच्छिक सहयोग र पारस्परिक सम्मानकाे महत्व प्रस्तुत गर्दै संक्षिप्त सत्रबाट गरिएको थियो । त्यसपछि समानुभूति र स्वैच्छिक क्रियाकलापहरूले समाजमा सकारात्मक परिवर्तन कसरी ल्याउन सक्छन् भन्ने विषयमा पनि विस्तृत छलफल गरिएको छ ।
जेन जि द्वारा हालै भएका शान्तिपूर्ण विरोध प्रदर्शनहरू कसरी मानव सम्मान सिद्धान्तसँग मेल खान्छन् भन्नेबारे पनि सहभागीहरूसँग विचार विमर्श भएको थियो ।

अन्तरक्रियात्मक सत्रमा सहभागीहरूले दैनिक जीवनमा मानव सम्मान लागू गर्ने तरिका, यसले नेपालमा नागरिक सहभागितालाई कसरी सबल बनाएको छ, र यसको दीर्घकालीन सामाजिक प्रभावबारे आफ्ना अनुभव तथा दृष्टिकोण पनि साझा गरेका थिए ।
त्यसपछिकाे प्रतिबिम्ब सत्रमा सहभागीहरूले मानव सम्मानको दर्शनलाई व्यक्तिगत जीवन, सामुदायिक व्यवहार तथा व्यापक सामाजिक परिवर्तनसँग जोडेर आफ्नो बुझाइ साझा गरेका थिए । कार्यक्रमको समापन बिङ्गो खेलका विजेताहरूलाई पुरस्कार वितरण गर्दै गरिएको थियो ।