शिव सतासी नगर प्याब्सनद्वारा आयोजित कराते प्रतियोगितामा सेभेन सिज प्रथम

ठोस खबर ,३० कार्तिक / शिवसत्तासी नगर प्याब्सनद्वारा आयोजित विभिन्न विधाका अतिरिक्त क्रियाकलाप अन्तर्गत कराते विधाको प्रतियोगितामा सेभेन सिज अंग्रेजी विद्यालय प्रथम भएको छ ।

शिवसतासी नगरपालिका १० माइधार स्थित मेची अंग्रेजी विद्यालयमा नगरभरिका १० वटा अङ्ग्रेजी विद्यालयको सहभागितामा आइतबार भएको कराते प्रतियोगितामा सेभेन सिज अंग्रेजी विद्यालय प्रथम भएको हो।
प्रतियोगितामा २० केजीदेखि ५० केजीसम्म ५ – ५ केजीको अन्तर तौलका महिला तथा पुरुष खेलाडीहरु बीच प्रतिस्पर्धा भएको थियो । प्रतिस्पर्धामा सेभेन सिज अंग्रेजी विद्यालयले ८ स्वर्ण ८ कास्य र ७ रजत मेडल हात पार्दै प्रथम भएको हो । त्यस्तै मेची अंग्रेजी विद्यालयले ५ स्वर्ण २ कास्य र ८ रजत मेडल हात पार्दै दोस्रो भएको छ भने संस्कार अंग्रेजी विद्यालयले २ स्वर्ण १ काश्य र ३ रजत मेडल हात पार्दै तृतीय भएको छ ।

प्रतियोगितामा रेड रोज अङ्ग्रेजी विद्यालयका रोनिश राई पुरुषतर्फ उत्कृष्ट खेलाडी घोषित भए भने महिलातर्फ मेची अंग्रेजी विद्यालयको मेरीका बस्नेत उत्कृष्ट खेलाडी घोषित हुँदै ट्रफी हात पारेका छन् । प्रतियोगिता सम्पन्न गर्नको लागि जिल्ला कराते महासङ्घ झापाले सहजीकरण गरेको थियो ।

ट्रफी तथा मेडल विजेताहरूलाई एक औपचारिक कार्यक्रम गरी कार्यक्रमका अध्यक्ष जिल्ला खेलकुद विकास समितिका प्रवक्ता , कराते महासङ्घ झापाका अध्यक्ष तथा सितोरियो केन्द्रीय सदस्य जगन कार्की (दुर्वासा), प्रमुख अतिथि शिवसतासी जेसिजका अध्यक्ष तथा मेची अंग्रेजी विद्यालयका प्रिन्सिपल साथै खेलप्रेमी युवा पदम कुँवर, विशिष्ट अतिथि झापा जिल्ला प्याब्सनका कोषाध्यक्ष तथा खेल संयोजक अमृत तिम्सिना , मेची अंग्रेजी विद्यालयका फाउन्डर पर्शुराम गुरागाई , खेलप्रेमी तथा अभिभावक चन्द्रबहादुर कार्की , क्षेत्र नम्बर ४ का सिनियर कराते प्रशिक्षक युवराज पाठक (राम) , राष्ट्रिय खेलकुद परिषदका कराते प्रशिक्षक तथा आजका खेल रेफ्री संयोजक कृष्ण बस्नेत , नेपाल कराते महासंघ झापाका सचिव तथा कराते प्रशिक्षक राजेन्द्र लिम्बु लगायतले मेडल तथा ट्रफी हस्तान्तरण गर्नुभएको थियो ।

कार्यक्रममा उपस्थित सबैलाई स्वागत संगै कार्यक्रमको औचित्यमाथि प्रष्ट पार्दै कार्यक्रमका अध्यक्ष जगन कार्की दुर्वासाले विद्यार्थीको सर्वाङ्गीण विकासका लागि खेलकुद अपरिहार्य रहेको भन्दै खेलले विद्यार्थीमा रहेको अन्तरनिहित क्षमतालाई अगाडि ल्याउन सहयोग गर्नुका साथै अनुशासनमा रहन सिकाउने र व्यक्तिगत तथा राष्ट्रको सुरक्षामा समेत महत्व राख्ने बताउनुभयो । उहाँले जिल्ला प्याब्सनले विद्यालय स्तरमा अतिरिक्त क्रियाकलापहरूको प्रतिस्पर्धामा यस वर्षबाट करातेलाई पनि समावेश गरेकोमा विशेष आभार व्यक्त गर्दै यस कार्यको लागि सहजीकरण गर्नुहुने जिल्ला प्याब्सनका कोषाध्यक्ष तथा खेल संयोजक अमृत तिम्सिनालाई विशेष धन्यवाद ज्ञापन गर्नुभयो ।

कार्यक्रममा सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि पदम कुँवरले “खेलकुद जीवनको ऊर्जा ,शक्ति र प्रेरणा, देशको गौरव बढाउने उज्यालो चेतना” भएको बताउनुभयो । उहाँले कराते खेल एउटा मार्सलआर्ट खेल मात्र नभएर मानसिक ,शारीरिक र नैतिक विकासको पूर्ण संयोजन भएको पनि बताउनुभयो ।

कार्यक्रममा विभिन्न सहभागी विद्यालयका शिक्षक, प्रशिक्षक , कर्मचारी , विद्यार्थी साथै खेलप्रेमीहरूको उल्लेख्य उपस्थिति रहेको थियो । औपचारिक कार्यक्रमको सञ्चालन करातेका अन्तर्राष्ट्रिय पदक विजेतासमेत रहनुभएका राष्ट्रिय खेलकुद परिषद् प्रशिक्षक दुर्गाराज निरौलाले गर्नुभएको थियो ।
