कनकाई नगर प्याब्सनद्वारा अतिरिक्त क्रियाकलाप अन्तर्गतको खेलकुद प्रतियोगिता सम्पन्न

ठोस खबर , ७ मंसिर / निजी तथा आवासीय विद्यालयहरूको छाता संगठन प्याब्सनको कनकाई नगर समितिले अतिरिक्त क्रियाकलाप अन्तर्गतको खेलकुद प्रतियोगिता सम्पन्न गरेको छ ।
प्याब्सनमा आबद्ध कनकाईका निजी तथा आवासीय विद्यालयहरूका ८ सय भन्दा बढी विद्यार्थीहरू सहभागी भएको खेलकुद प्रतियोगिताको शनिबार कनकाई ३ स्थित ग्लोबल एडुकेयर एकेडेमीको प्राङ्गणमा एक समारोहका बीच प्रतिस्पर्धामा विजेता बनेका खेलाडीहरूलाई ट्रफी मेडल र प्रमाणपत्र प्रदान गर्दै समापन गरिएको हो ।
गत कार्तिक २१ गतेबाट सुरु भएको खेलकुद प्रतियोगितामा दौड ,छेलो ज्याब्लिङ हाइजम्प , लङ्गजम्प , रिले , कराते काता , कबडी , क्रिकेट , भलिबल र फुटबल गरी ११ विधामा पुरुष तथा महिला खेलाडीबीच अलगअलग प्रतिस्पर्धा भएको थियो ।
प्रतियोगिताका विजेता प्रतियोगीहरूलाई शनिबार आयोजित समापन समारोहका अध्यक्ष तथा कनकाई नगर प्याब्सनका अध्यक्ष बिनोद उप्रेती , कार्यक्रमका प्रमुख अतिथि झापा जिल्ला प्याब्सनका अध्यक्ष छत्र कुमार कार्की , विशिष्ट अतिथि कोशी प्रदेश प्याब्सनका सदस्य भानु राजबंशी , अतिथिहरू झापा प्याब्सनका एकेडेमिक एडभाइजर अखिल कोइराला , जिल्ला प्याब्सन सदस्य मोहन थापा , कनकाई प्याब्सनका खेलकुद उपसमिति सदस्य राजन कार्की , युनिक बहुमुखी क्याम्पसका सञ्चालक त्रिलोचन उप्रेती लगायतले ट्रफी मेडल र प्रमाणपत्र हस्तान्तरण गर्नुभएको छ ।
प्रतियोगिताका विजेताहरूलाई बधाई तथा शुभकामना दिँदै कार्यक्रमका प्रमुख अतिथि झापा जिल्ला प्याब्सनका अध्यक्ष छत्रकुमार कार्कीले प्याब्सनले यस्ता कार्यक्रमहरू किन र कसरी गर्दैछ भन्ने कुराको जानकारी गराउनु भयो । उहाले प्याब्सनले आयोजना गर्ने खेलकुदका माध्यमबाट विद्यार्थीहरुलाई अध्यनको अतिरिक्त अन्य धेरै फाईदा पुग्ने भन्दै खेलमा हारजित हुने हुदा उनीहरुलाई पछि गएर हार्न समेत व्यावहारिक ज्ञान प्राप्त हुने, उनीहरुको स्वास्थ्य रहन मद्धत पुग्ने र राम्रो खेलेर व्यावसायिक खेलाडी समेत बन्न मद्धत मिल्ने विश्वास व्यक्त गर्नुभयो ।
कनकाई नगर प्याब्सनका अध्यक्ष विनोद उप्रेतीको अध्यक्षतामा भएको प्रतियोगिता समापन तथा पुरस्कार वितरण कार्यक्रममा उपस्थित सबैले स्वागत ग्लोबल एडुकेयर एकेडेमीका प्रिन्सिपल तथा कन्काई नगर प्याप्सनका कोषाध्यक्ष विमान लामाले गर्नुभएको थियो । कार्यक्रम सञ्चालन कनकाई नगर प्याप्सनका सचिव तथा झापा मेरीगोल्ड अंग्रेजी विद्यालयका प्रिन्सिपल गोकुल उप्रेतीले गर्नुभएको थियो ।
