ठोस खबर , १४ मंसिर / “स्वास्थ्यको लागि साइक्लिङ” मूल नाराका साथ झापाको कनकाई नगरपालिका ४ स्थित झापा मेरीगोल्ड अङ्ग्रेजी विद्यालयले विद्यार्थीहरूलाई साइक्लिङमा जोडेको छ ।

झापा मेरीगोल्डको मेरीगोल्ड स्काउट दलको आयोजनामा शनिबार नगरभित्रका विभिन्न विद्यालयका स्काउटका विद्यार्थीहरूको सहभागितामा साइक्लिङ गरिएको हो ।

झापा मेरीगोल्ड अङ्ग्रेजी विद्यालयका प्रिन्सिपल गोकुल उप्रेतीले विद्यार्थीहरूको शारीरिक र मानसिक अवस्था राम्रो भयो भने उनीहरुले पढाएका कुरा चाँडै बुझ्ने हुनाले विद्यार्थीहरुलाई विद्यालयले यस किसिमका अतिरिक्त क्रियाकलापहरुमा जोड्दै आएको बताउनुभयो ।उहाँले विद्यालयले विद्यार्थीहरुलाई खेलकुद साथै विभिन्न किसिमका सांस्कृतिक कार्यक्रमहरूमा समेत निरन्तर सहभागिता गराउँदै आएको जानकारी गराउनुभयो ।

झापा मेरीगोल्डका स्काउट मास्टर नगेन्द्र सुवेदीले विद्यार्थीहरूको शारीरिक र मानसिक स्वास्थ्य राम्रो होस् भन्ने उद्देश्यको साथ साइक्लिङ आयोजना गरिएको जानकारी दिनुभयो ।

कन्काई नगरपालिकाका निजी तथा सामुदायिक विद्यालयहरूका स्काउट दल झापा मेरीगोल्ड स्काउट दल , पारिजात स्काउट दल , सिंहदेवी स्काउट दल , कनकाई स्काउट दल , ग्लोबल स्काउट दल , पशुपति स्काउट दल , हरिकुल स्काउट दल , विद्योदय स्काउट दल साथै शिवसतासी नगरपालिकाको सामुदायिक विद्यालय लालपानी माविको लालपानी स्काउट दल गरी नौवटा विद्यालयको स्काउट दलका १०० भन्दा बढी विद्यार्थीहरूको सहभागितामा साइक्लिङ गरिएको छ ।

“हिँडौँ साइकल यात्रामा , स्वास्थ्य जीवनको पाटामा” , “साइकल चलाउने बानी, स्वास्थ्य जीवनको निशानी” , “धुँवा मुक्त सहर , साइकलबाटै सम्भव” , “साइकल चलाउँ , ऊर्जा बचाउ”, ” साइकल चलाउँ , वातावरण जोगाउँ” , “आजको साइकल , भोलिको सुरक्षित पृथ्वी” , “साइकल चलाउनुहोस् , स्वास्थ्य पाउनुहोस्” , “बि प्रिपेड बि ग्रिन- चुज साइक्लिङ”, “राइडिङ व्थ प्रपोज , स्काउट इज ग्रिनर फ्युचर” लगायतका प्लेकाड सहित गरिएको साइक्लिङ झापाको कनकाई नगरपालिका ३ स्थित कनकाई माविको खेलमैदानबाट झापा रोड हुँदै सुरुङ्गा बजार र पुन: झापा रोड हुँदै तुलसी बारी , नारायणदल चोक , बेघाचोक खानेपानी ट्याङ्की, सिंहदेवी स्कुल, गौतमचोक हुँदै पुन: कन्काई माविको खेलमैदानमा आएर टुङ्गिएको थियो । साइक्लिङ पूरा गर्नेहरूलाई साइकिलिङ ब्याज समेत वितरण गरिएको थियो ।

साइकिलिङमा स्काउट मास्टरहरू नगेन्द्र सुवेदी , मोहन थापा , रामबहादुर चौधरी , झलक भण्डारी , किशोर महत लगायतले नेतृत्व गर्नुभएको थियो । सडकमा साइक्लिङ सहजताका लागि इलाका प्रहरी कार्यालय सुरुङ्गा र ट्राफिक प्रहरी कार्यालय सुरुङ्गाले सहयोग गरेको थियो भने स्वास्थ्य स्वास्थ्य सेवाको लागि नेपाल रेड क्रस सोसाइटी सुरुङ्ग उपशाखाको एम्बुलेन्स सौजन्य गरिएको थियो ।