ठोस खबर , १ पुस / निजि तथा आवासीय बिद्यालयहरुको छाता संगठन कन्काई नगर प्याब्सनले स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्दै आएको देखिएको छ ।

विगत वर्षदेखिनै आफ्ना कार्यक्रमहरूमा मायाको चिनोको रुपमा स्थानीय उत्पादनलाई प्रवर्धन गर्दै झापाको कन्काई नगरपालिका ४ मौरीपालन टोलस्थित कनकाई मौरी पालनबाट उत्पादित अर्गानिक मह प्रयोग गर्दै आएको प्याब्सनले यस पटक पनि नगरस्तरीय प्रतियोगितात्मक सांस्कृतिक कार्यक्रममा मायाको चिनोको रुपमा मह नै प्रयोग गरेको छ ।

स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्दै व्यवसायीहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले प्याब्सनले स्थानीय व्यवसायीले उत्पादन गरेको सामग्रीलाई सदुपयोग गर्दै आएको कनकाई नगर प्याप्सनका अध्यक्ष बिनोद उप्रेतीले बताउनुभएको छ ।

नगरभित्रका संघसंस्थाहरूले गर्ने विभिन्न कार्यक्रमहरूमा अतिथिहरूलाई प्रदान गरिने मायाको चिनोको रुपमा कनकाई नगर प्याब्सनले स्थानीय उत्पादनलाई प्रवर्द्धन गरे जसरी नै अन्य धेरै स्थानीय उत्पादनहरुलाई प्रवर्द्धन गर्ने हो भने स्थानीय व्यवसायीहरु लाभान्वित हुने भन्दै सबैलाई यस्तो अभ्यास गर्न कनकाई नगर प्याब्सनका सचिव गोकुल उप्रेतीले अनुरोध गर्नुभएको छ ।

कनकाई मौरी पालनका मौरीपालक व्यवसायी कृष्ण अधिकारीले भने आफ्नो उत्पादनलाई प्रवर्द्धन गर्ने हेतुले कन्काई नगर प्याप्सनले मायाको चिनोको रूपमा मह प्रयोग गरेकोमा प्याब्सन परिवारलाई धन्यवाद दिँदै स्थानीय अन्य संघसंस्थाहरुले पनि देशमै केही गरी खाउँ भन्ने उद्देश्यले स्थानीय उत्पादनमा जोड दिँदै व्यवसाय सञ्चालन गरेका व्यवसायीहरूको उत्पादनलाई प्रवर्द्धन गरिदिने हो भने थोरै भएपनि युवाहरू विदेश पलायन हुनबाट रोकिने बताउनुभयो ।

अधिकारीले विगत लामो समयदेखि स्थानीय स्रोत साधनहरू प्रयोग गरेर मौरी पालन गरी अर्गानिक मह उत्पादन गर्दै आउनुभएको छ ।