ठोस खबर , १० पुस / झापाको कन्काई नगरपालिका ५ तुलसीबारीमा रहेको देवकोटा आधारभूत विद्यालयले विविध कार्यक्रम गर्दै ६२औं वार्षिक उत्सव मनाएको छ ।

विद्यालयको ६२औं वार्षिक उत्सवको अवसरमा विद्यालयले बुधबार विद्यालय प्राङ्गणमा विविध संस्कृति कार्यक्रम साथै पूर्व अध्यक्ष , दाता र उत्कृष्ट शिक्षक कर्मचारीलाई सम्मान गर्दै वार्षिक उत्सव मनाएको हो ।

कार्यक्रममा दुई कार्यकालसम्म विद्यालय व्यवस्थापन समितिको अध्यक्ष भएर विद्यालय सञ्चालन गर्नुहुने पुर्व अध्यक्ष शैक्षिक व्यक्तित्व पुण्यप्रसाद ओझा , विद्यालयाई एक लाखको अक्षय कोषदाता किशोरी शाह , विद्यालय प्राङ्गणमा ३ लाख बराबरको सरस्वतीको मन्दिर निर्माण कर्ता पारस उप्रेती , विद्यालयका पूर्व सल्लाहकार तथा सहयोगी दाता रमेश चन्द्र दाहाल , विद्यालयका संस्थापक परिवारका सदस्य तथा सहयोगीदाता रोशन चुडाललाई सम्मानपत्रबाट सम्मान गरिएको छ ।

त्यसैगरी विद्यालयका उत्कृष्ट शिक्षक तथा कर्मचारीहरूलाई हरेक वर्ष गरिने सम्मानबाट विद्यालयका कर्मचारी महेश्वर थापालाई २०८० को उत्कृष्ट कर्मचारीको रुपमा त्यसैगरी विद्यालयको शिक्षक सुनिता तिम्सिनालाई २०८१ को उत्कृष्ट शिक्षकको रुपमा र विद्यालयको शिक्षक दीपिका गिरीलाई यस वर्षको उत्कृष्ट शिक्षकको रुपमा नगदसहित सम्मानपत्रबाट सम्मान गरिएको छ।
सम्मानित सबैलाई कार्यक्रमका प्रमुख अतिथि कनकाई नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष कृष्णबहादुर राई , विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा कार्यक्रमको अध्यक्ष सचित्रा खनाल , विद्यालयका प्रअ उमानाथ तिम्सिना लगायतले सम्मान गर्नुभएको हो ।

वार्षिक उत्सवको अवसर पारेर आजै विद्यालयलाई स्वर्गीय नारायण प्रसाद चुडाल (माहिला मुखिया) को स्मृतिमा स्थापित गर्ग फाउन्डेसन नेपालका तर्फबाट चुडाल परिवारले विद्यालयमा विद्यार्थीलाई आवतजावतमा सहज होस् भन्ने ध्ययले एक थान सिटी सफारी प्रदान गरेको छ उक्त सिटी सफारी संस्थापक परिवारका सदस्य समेत रहेका दाता रोशन चुडाल लगायत चुडाल परिवारले विद्यालयलाई हस्तान्तरण गर्नुभएको हो ।

कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै विद्यालयका प्रअ उमानाथ तिम्सिनाले विद्यालयको वार्षिक उत्सवको अवसरमा विद्यालय स्थापनाकालदेखिका संस्थापक लगायत विद्यालयलाई यो अवस्थासम्म ल्याइ पुर्‍याउन योगदान दिनुहुने सम्पूर्णलाई सम्मान गर्दै विद्यालयले विभिन्न आरोह अवरोह पार गर्दै ६२ औँ बसन्त पार गरिरहँदा सामुदायिक विद्यालय भएपनि देवकोटा आधारभूत विद्यालय शैक्षिक गुणस्तरको हिसाबले अबल रहेको बताउनु भयो । उहाँले अभिभावकलाई इङ्कित गर्दै आफ्ना नानीबाबुहरू पढ्ने विद्यालयको शैक्षिक तथा भौतिक गुणस्तर का बारेमा जानकार हुन र विद्यालयबारे सधैं चासो राखिदिन अनुरोध समेत गर्नुभएको छ ।

कार्यक्रममा सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि कनकाई नगरपालिका ५ का वडाध्यक्ष कृष्णबहादुर राईले कनकाई नगरपालिका वडा नं ५ भित्र रहेका दुई आधारभूत विद्यालयहरू भगवती आधारभूत विद्यालय र देवकोटा आधारभूत विद्यालयलाई कसरी यस क्षेत्रमा टिकाइ राख्न सकिन्छ भन्ने अग्रजहरूबीच छलफल चलिरहँदा यी विद्यालयको शैक्षिक गुणस्तर उकास्नको लागि वडाको तर्फबाट विभिन्न सहयोग गर्दै आएको र आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिँदै जाने प्रतिबद्धता जनाउनुभयो। उहाँले यहाँबाट माथिल्ला कक्षाहरूमा अन्य विद्यालयमा गएर पढ्दै गर्दा यहाँका विद्यार्थीहरूको शैक्षिक अवस्था राम्रो देखिएको हुँदा अभिभावकहरुलाई यी विद्यालयहरूलाई विश्वास गरेर आफ्नो नानीबाबुहरू पठाइदिनको लागि समेत अनुरोध गर्नुभयो ।

कार्यक्रममा बिद्यालयका बिद्यार्थीहरुवाट वक्तव्य ,गित तथा नृत्य प्रस्तुत गरिएको थियो भने अभिभावकहरूबाट म्युजिकल चेयर , सियोधागो उन्ने , हन्डी फुटाउने जस्ता रमाइला खेलहरू खेली मनोरञ्जन लिएको थियो ।
त्यस्तै कार्यक्रममा विद्यालयले विद्यार्थीहरू बीच विभिन्न १० विधामा गरिएको प्रतियोगितात्मक अतिरिक्त क्रियाकलापमा प्रथम , द्वितीय र तृतीय हुने विद्यार्थीहरूलाई मेडल प्रदान गरिएको थियो ।

भगवती आधारभूत विद्यालयका प्रअ तथा कार्यक्रमका अतिथि खड्गप्रसाद बिमली , जग्गादाताको तर्फबाट यादव उप्रेती , सम्मानित व्यक्तित्वको तर्फबाट पूर्णप्रसाद ओझा , संस्थापक परिवारको तर्फबाट रोशन चुडाल लगायतले शुभकामना मन्तव्य राख्नुभएको कार्यक्रममा पिटिए अध्यक्ष शैलेन्द्रबिमली , कन्काई ५ का वडा सदस्य डिल्लीराम उप्रेती , सावित्रा बर्देवा , संस्थापक छविलाल चुडाल , न्यु रेलीमाई युवा क्लबका अध्यक्ष भुपालमान कार्की , गोकर्णेश्वर शिव पञ्चायत मन्दिरका अध्यक्ष गोपीचन्द्र उप्रेती , विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरू हेमराज बिमली , टिका प्रसाद उप्रेती , दुर्गा बिमली , श्यामराज घले , बलबहादुर श्रेष्ठ , खेमराज ओझा स्मृति कोषका मोतीखर ओझा , भर्खरै मात्रै विद्यालयलाई कोडियम सौजन्य गर्नुहुने दाता रिवाज तिम्सिना लगायतको आतिथ्यता रहेको थियो भने कार्यक्रममा उपस्थित सबैलाई स्वागत विद्यालयका प्रअ उमानाथ तिम्सिनाले र कार्यक्रम सञ्चालन विद्यालयका शिक्षक मोतिबहादुर बुढाथोकीले गर्नुभएको थियो ।