ठोस खबर , १८ पुस / झापाको कनकाई नगरपालिका ४ टेक्रा स्थित सिंहदेवी माध्यमिक विद्यालयले ४२ औँ स्थापना दिवसको अवसरमा आज शुक्रबार वार्षिक उत्सव तथा अभिभावक दिवस भव्य रुपमा सम्पन्न गरेको छ ।


ग्रामीण क्षेत्रमा रहेर पनि शैक्षिक गुणस्तरलाई ध्यानमा राखी पठनपाठन गराउँदै २०८१ को एसइइ परीक्षामा सामुदायिक विद्यालयतर्फ नगरकै उत्कृष्ट नतिजा निकाल्न सफल सिंहदेवी माध्यमिक विद्यालयले विद्यालयको प्राङ्गणमा विविध कार्यक्रम गर्दै ४२ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न गरेको हो ।


विद्यालयका कक्षागत तहका विद्यार्थीहरूबाट भिन्न भिन्न संस्कृतिक नृत्य तथा शिक्षक शिक्षिकाको नृत्य प्रस्तुतिबाट उपस्थित सबैलाई मनोरञ्जन प्रदान गर्दै सञ्चालन गरिएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक भोलानाथ ढुंगेलले विद्यालयको स्थापनाको पृष्ठभूमि सहित वर्तमान शैक्षिक , भौतिक र आर्थिक पक्ष समेटिएको वार्षिक प्रतिवेदन पेश गर्दै आगामी दिनको मार्गचित्र समेत प्रस्तुत गर्नुभएको थियो ।
वार्षिक उत्सवको अवसरमा विद्यालयमा अक्षय कोष दाता , सहयोगी संस्था तथा व्यक्ति ,जेष्ठ नागरिक , उत्कृष्ट शिक्षक , अभिभावक तथा अक्षयकोष दाता र जेष्ठ नागरिकलाई सम्मान गरिएको थियो ।


जस अन्तर्गत अक्षय कोष दातातर्फ बसुन्धरा बराल तथा राजेन्द्र बराल स्मृति अक्षय कोषका संस्थापक पूर्णबहादुर बराल , विष्णुमाया गौतम स्मृति अक्षय कोषका संस्थापक परशुराम गौतम र सहयोगी दाताहरू रूपा मैनाली चापागाईं , राधेश्याम अग्रवाल, टिका देवी पाठक तारा प्रसाई , सहयोगी संस्था कारितास नेपालका प्रतिनिधि सोमनाथ मगर लाई सम्मानपत्र र दोसल्लाबाट सम्मान गरिएको थियो ।


त्यसैगरी शिक्षक कृष्णप्रसाद न्यौपाने र मिना सापकोटा लाई वर्ष उत्कृष्ट शिक्षकको रूपमा र रेजिना बास्तोला लाई वर्ष उत्कृष्ट अभिभावक घोषणा गर्दै सम्मानपत्र र दोसल्लाबाट सम्मान गरिएको थियो ।
सम्मानित सबैलाई कार्यक्रमका प्रमुख अतिथि कन्काई नगरपालिकाका नगरप्रमुख राजेन्द्रकुमार पोखरेल , विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बालकृष्ण ढकाल , विद्यालयका प्रधानाध्यापक भोलानाथ ढुंगेल , कार्यक्रमका विशेष अतिथि कन्काई नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष रोशन सुवेदी लगायतले सम्मान गर्नुभएको थियो ।
त्यस्तै बसुन्धरा बराल स्मृति अक्षय कोषबाट सम्मान गरिँदै आएको जेष्ठमाता सम्मानबाट जेष्ठमाता मनमाया तिम्सिनालाई कोषका दाता पूर्णबहादुर बराल , कार्यक्रमका प्रमुख अतिथि पोखरेल साथै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ढुंगेल लगायतले सम्मान गर्नुभएको थियो ।

कार्यक्रमकै अवसर पारेर विभिन्न छात्रवृत्तिहरू समेत वितरण गरिएको छ । जस अन्तर्गत विष्णुमाया स्मृति अक्षय कोषबाट कक्षा आठमा अध्ययनरत उत्कृष्ट विद्यार्थी विनिशा पौडेललाई कोषका संस्थापक पर्शुराम गौतमले छात्रवृत्ति वितरण गर्नुभयो । त्यस्तै आश्मा फुयाल स्मृति अक्षय कोषबाट २०८१ को एसइइमा उत्कृष्ट अङ्क ल्याई उत्रिण छात्र अर्जुनप्रसाद चापगाई र छात्रा लोली लिङ्गदेनलाई अक्षयकोष दाता बाबुराम फुयाल र सीता फुयालले प्रमाणपत्र र छात्रवृत्ति वितरण गर्नुभयो भने राजेन्द्र बराल स्मृति अक्षय कोषबाट कक्षा ५ मा अध्ययनरत उत्कृष्ट विद्यार्थी जेनी कार्कीलाई कोषका संस्थापक पूर्णबहादुर बरालले छात्रवृत्ति वितरण गर्नुभयो ।

कार्यक्रममा विद्यालयमा अध्यापन गरेर हाल विदा हुनुभएका शिक्षकहरू युवराज पौडेल , दीपक कुमार दास , भगवती चौधरी , रुद्रमणि पराजुली र हेमन्त मैनालीलाई सम्मान सहित विदाई गरिएको छ भने
वार्षिक उत्सवको अवसर पारेर खेलिएको अभिभावक र शिक्षकहरू बीचको मैत्रीपूर्ण भलिबल प्रतियोगिताको विजेता अभिभावकको टिम र महिला अभिभावकहरू बीच खेलाइएको म्युजिकल चेयरका विजेता हरूलाई पुरस्कार समेत वितरण गरिएको छ ।

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै कार्यक्रमका प्रमुख अतिथि कन्काई नगरपालिकाका नगरप्रमुख राजेन्द्र कुमार पोखरेलले २०८१ को एसइइमा नगरका सामुदायिक विद्यालयहरूको तर्फबाट नगरमै उत्कृष्ट नतिजा निकाल्न सफल भएकोमा विद्यालय परिवार लाई बधाई तथा धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि यस्तै किसिमको नतिजाको अपेक्षा गर्नुभयो । उहाँले शिक्षामा उन्नति नभई मुलुकको उन्नति नहुने कुरालाई आत्मसात गर्दै आफूहरु शिक्षाको उन्नतितर्फ निरन्तर लागिरहेको बताउनुभयो । कनकाई नगरलाई शिक्षाको हवको रुपमा विकास गर्नको लागि नगर निरन्तर लागिरहेको बताउँदै सिंहदेवी विद्यालयलाई मात्र नभएर नगरका सबै शैक्षिक संस्थाहरूलाई नगरबाट सहयोग गरिँदै आएको र यस किसिमको सहयोग सधैं रहने समेत नगरप्रमुख पोखरेलले प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै कनकाई नगरपालिका वडा नम्बर ४ का वडाअध्यक्ष रोशन सुवेदीले विद्यालयमा शैक्षिक गुणस्तरको विकास सँगसँगै स्वच्छ पिउनेपानी र स्वास्थ्य परीक्षण लगायतका विषयमा वडाले निरन्तर ध्यान दिँदै आएको र आगामी दिनमा पनि विद्यालयको भौतिक तथा शैक्षिक विकासको लागि निरन्तर लागिरहने बताउनुभयो । शुभकामनाकै क्रममा विद्यालयका स्थापना कालका शिक्षक पुरन फुयालले आफ्ना स्वर्गीय पिता शर्मानन्द फुयालको स्मृतिमा विद्यालयमा १ लाख १ हजार एकसय एघार रुपैयाँको अक्षय कोष स्थापना गर्ने घोषणा गर्नुभयो । अर्का दाता सामाजिक व्यक्तित्व शेरबहादुर थापाले शुभकामना मन्तव्य राख्दै विद्यालयमा ५१ हजार रुपैयाँको अक्षय कोष स्थापना गरिदिने वचनबद्धता दिनुभयो त्यस्तै सामाजिक व्यक्तित्व भरत कुमार श्रेष्ठले शुभकामना मन्तव्य राख्दै विद्यालयलाई पाँच अङ्क राशि भएको रकम सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो भने शिक्षक अभिभावक सङ्घ कन्काईका अध्यक्ष चन्द्रप्रसाद पोखरेलले हाल सामुदायिक विद्यालयहरूमा पनि पठनपाठन राम्रो हुँदै गएको जानकारी गराउँदै अभिभावकहरुलाई आफ्ना नानीहरू सामुदायिक विद्यालयमा पठाउनको लागि अनुरोध गर्नुभयो ।

कार्यक्रममा जनप्रतिनिधिहरू शेषप्रसाद प्रसाई , मोहन संग्रौला , मन्दिरा बिक , गोविन्द कार्की , कनकाई माध्यमिक विद्यालय व्यवस्थापन समिति अध्यक्ष चन्द्रप्रसाद प्रसाई , कनकाई माध्यमिक विद्यालयका प्रअ कर्बहादुर डाँगी , सरस्वती माविका प्रअ नारायण प्रसाद अधिकारी , भगवती आधारभुत विद्यालयका प्रअ खड्ग विमलि , जनचेतना आधारभूत विद्यालयका प्रअ होमकुमारी कुमाल , जानकी आधारभूत विद्यालयको प्रअ इन्दिरा पाठक , बिद्यालयको जग्गादाता गोपाल फुयाल , विद्यालयका संस्थापक प्रअ लेखबहादुर कोइराला , विद्यालयका पिटिए अध्यक्ष तथा खेलमैदान व्यवस्थापन समितिका अध्यक्ष दधीराम न्यौपाने , पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा सल्लाहकार संयोजक राजेन्द्रडागी , पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु विष्णुकुमारी तिम्सिना , शिवप्रसाद ढकाल , विद्यालय सम्बद्ध विभिन्न समिति उपसमितिका पदाधिकारी तथा सदस्यहरू, स्थानीय संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधि , विद्यालय सञ्चालक , शिक्षाप्रेमी , समाजसेवी , बुद्धिजीवी , लब्धप्रतिष्ठित व्यक्तित्वहरूको आतिथ्यता रहेको कार्यक्रममा अभिभावक एवं विद्यार्थीहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

बिद्यालय सञ्चालक समितिका अध्यक्ष बालकृष्ण ढकालको अध्यक्षतामा भएको कार्यक्रममा उपस्थित सबैलाई स्वागत विद्यालयका शिक्षक लक्ष्मण खरेलले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन विद्यालयका शिक्षक द्वय वीरेन्द्र ओली र रेणुका घतानीले गर्नुभएको थियो ।