ठोस खबर , १७ फागुन / अभिवेद र समानताका लागि कार्यरत महिला कानुन र विकास मञ्च (एफडब्लुएलडी)को आयोजना तथा कनकाई नगरपालिका वडा नं ४ को समन्वयमा समुदाय स्तरमा मतदाता शिक्षा कार्यक्रम सम्पन्न भएको छ ।

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई मध्यनजर गर्दै जेष्ठ नागरिक भवन कनकाई ४ मा मतदाताहरुको उपस्थितिमा नमुना मतदान व्यवहारीक रुपमै गराएर समुदाय स्तरमा मतदाता शिक्षा कार्यक्रम गरिएको हो ।

कार्यक्रममा मतदाताहरूले मत हाल्न जाँदा कुन कुन नियमहरू पालना गर्नुपर्छ ? मत हाल्दा कसरी हाल्नुपर्छ ? कुन कुन अवस्थाका मतदाताहरूले कुन कुन ठाउँबाट मत गर्न पाउँछ ? मत कसरि बदर हुन्छ । कसरी मत हाल्दा बदर हुँदैन भन्ने विषयमा कार्यक्रम आयोजक महिला कानुन र विकास मञ्चका कार्यक्रम संयोजक अधिवक्ता सागर पाठकले जानकारी गराउनुभएको थियो।

उहाँले सर्वप्रथम मत हाल्न कसले पाउँछ भन्ने विषयमा जानकारी गराउँदै , मतदाता नामावलीमा नाम भएको व्यक्तिले मत हाल्न पाउने र मत हाल्न जाँदा आफूसँग भएको मतदाता परिचयपत्र अथवा मतदाता परिचयपत्र नभए राज्यद्वारा मान्यता प्राप्त फोटोसहितको प्रमाणपत्रहरू राष्ट्रिय परिचयपत्र, नागरिकता ,पासपोर्ट , जग्गा धनीपुर्जा , सवारीचालक अनुमतिपत्र लिएर गए मतदान गर्न पाइने जानकारी गराउनुभयो ।

पाठकले मतदान स्थलमा पुगिसकेपछि मतदाताहरूले अपनाउनुपर्ने नियमहरूबारे जानकारी गराउँदै सर्वप्रथम मतदान स्थलमा पुरुष , महिला , साथै प्राथमिकताका व्यक्ति (अशक्त, अपाङ्गता भएका व्यक्ति , जेष्ठ नागरिक, लैङ्गिक असमानता भएका व्यक्ति , गर्भवती, क्रिया पुत्री) लगायतको लागी छुठ्याईएको स्थानबाट लाइनमा बसेर मतदान कर्मचारी सम्म पुगी आफ्नो परिचयपत्र देखाई मतदाता नामावलीमा नाम भएको प्रमाणित गरी मतदान गर्न जाने व्यक्तिको बायाँ हातको बुढी अौलाको नङ र मासु छुने गरी मसीको चिन्ह लगाई प्रत्यक्ष तर्फको निर्वाचन अधिकृतको साइन भएको मतपत्र बुझी मतसंकेत बक्समा गई आफूले चाहेको उम्मेदवारको चुनाव चिन्ह भएको कोठाभित्र बाहिर नपर्ने गरी राखिएको स्वस्तीक छाप लगाई अन्यत्र नलतपतिने गरी र बाहिर नदेखिने गरी पट्याएर बक्समा हाल्ने र पुनः अर्को लाइनमा गई समानुपातिक तर्फको मतपत्र लिई आफूले चाहेको चुनाव चिन्हमा पहिलेको जसरी नि मतदान गरी समानुपातिकको बक्समा हालेर तोकिएको क्षेत्रबाट बाहिर निस्कन पर्ने जानकारी गराउनुभयो ।
उहाँले मतदान स्थलमा मतदान गर्न जानु अगाडि र मतदान गरिसकेपछि बसेर होहल्ला गर्न र गोपनियता भङ्ग गर्न नहुने समेत मतदाता शिक्षामा जानकारी गराउनुभयो ।

जेष्ठ नागरिक मञ्च कन्काई ४ का अध्यक्ष लक्ष्मीप्रसाद पाठकको अध्यक्षतामा भएको समुदाय स्तरमा मतदाता शिक्षा कार्यक्रममा कन्काई नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि रोशन सुवेदीले मतदाता शिक्षा नहुँदा यश अघिका चुनावमा धेरै मतदान गरेका मतपत्रहरू बदर हुने गरेको भेटिएकाले यसले न्यूनीकरण गर्ने उद्देश्यले कनकाई नगरपालिका वडा नम्बर ४ को सहकार्यमा समुदाय स्तरमा मतदाता शिक्षा कार्यक्रम आयोजना गरिएको जानकारी गराउनुभयो ।
औपचारिक रूपमा गरिएको समुदाय स्तरमा मतदाता शिक्षा कार्यक्रम पछि व्यवहारिक रुपमै मतदाताहरूलाई लाइन लगाएर मतदानको डेमो समेत प्रस्तुत गरिएको थियो । जसमा मतदान स्थलमा जे जसरी मतदानको प्रक्रिया हुन्छ त्यसरी नै मतदान गराएर मतदान शिक्षा प्रदान गरिएको थियो ।