एक बोरा मलका लागि ५ घण्टाको लाइन

शरणामती, ५ पुस / गएको तीन वर्ष देखि नेपालका किसानले खेतवालीमा लगाउने रासायनिक मलको समस्या झेलिरहेका छन् । रसायनिक मलको समस्या भने नौलो विषय होइन । समस्या देशैभरी छ । सडक र सदनमा समेत मलको समस्याको विषय भने नउठेका होइनन् । तर सरकार यस समस्याको हल गर्न भने सकिरहेको छैन । महंगी आकाशिदो छ,रसायनिक मलको अभाव छ,किसानको उत्पादनको मूल्य छैन । यसै समस्या विच पिल्सेका किसान चर्को आर्थिक संकटमा छन् । नेपाल कृषिप्रधान देश,कृषिमै निर्भर रहने अधिकांस जनता । कृषि उत्पादन बढाउने र उचित बजार व्यवस्थापन गर्न नसक्दा किसानको जिवनस्तर उठ्न सकेको छैन ।
बाली लगाइसकेपछी महिनौ पछि आएको रसायनिक मल पनि बालीमा यथेष्ट नपाउँदा किसान अर्को मारमा परेका छन् । एक बोरा रसायनिक मल पाउन ५ घन्टा लाइनमा बस्नु पर्ने बाध्यता छ ।
मंगलबार झापाको झापा गाउँपालिका वडा नम्बर ६ स्थित तीन सहकारी संस्थामा करिव ४०० बोरा मल आयो । घरदुरी नम्बर,धनिपुर्जा नम्बर र नागरिकता नम्बर लिएर वडाकार्यालयले मलका लागि टोकन दिने भयो।उक्त टोकन लिएर मात्र सहकारीले एक बोरा मल उपलब्ध गराउने भयो । १० बजे देखि वडाकार्यालय परिसरमा मल प्राप्तीका लागि लाइनमा बसेका स्थानीयले एक बोरा मल दिन पनि वडाले किसानलाई सास्ती दिएको बताए ।
दुई बिगाह मकै लगाइन्छ,महिनौ पछि आएको मल पनि एक बोरा मात्र पाइन्छ स्थानीय कृषक सुरेश तामाङले भने एक बोराले कहाँ पुग्छ र ! एक बोरा मल पाउन पनि वडाकार्यालयमा लाइन लाग,सहकारीमा लाइन लाग एकदिन जान्छ उनले गुनासो गरे ।
सवै किसानलाई मल पुगोस भनेर वडाकार्यालयले मल वितरणमा सहजीकरण गरेको वडाध्यक्ष नविनकिशोर थापाको भनाई छ । सहकारी एक्लैले वितरण गर्दा सबै किसानले पाएनन भन्ने गुनासो आयो,त्यही भएर मल वितरणमा हामीले सहजीकरण गरेको हो उनले भने । झापा वडा नम्बर ६ मा करिव १२ सय घरदुरी छन् । सवै किसान हुन । सबैले मल पाउनु पर्छ भन्ने हाम्रो चाहाना हो थापाले भने ।
