ठोस खबर कनकाई , २५ माघ / झापाको कनकाईमा पशु स्वास्थ्य तथा बाँझो पन निवारण सम्बन्धि वृहत घुम्ती शिविर चलिरहेको छ । गत माघ २३ गते बाट सुरु भएको शिविर आगामी फागुन २ गते समापन हुने छ ।
कनकाई नगरपालिकाको वडा नं.९ घैलाडुब्बाबाट सुरु गरिएको शिविरमा अहिलेसम्म वडा ९ र ८ र १ मा कार्यक्रम सम्पन्न भएको छ । बुधबार बडा १ मा शिविर सम्पन्न गरे संगै नगरका तपन वटा वडामा शिविर सम्पन्न भएको हो । बुधबार वडा १ मा शिविर को उद्घाटन नगर प्रमुख राजेन्द्रकुमार पोख्रेल , उप प्रमुख आशा शर्मा शिवाकोटी , वडा १ का अध्यक्ष सुशील कुमार पोख्रेल लगायले गर्नुभएको थियोे ।

कनकाई नगरपालिका वडा नं.१ का वडाअध्यक्ष शुशिलकुमार पोख्रेलको अध्यक्षतामा भएको शिविरको उद्घाटन कार्यक्रमलाई प्रमुख अतिथि समेत रहनु भएका नगर प्रमुख पोख्रेलले कृषि तथा पशुपालनका क्षेत्रमा आत्मनिर्भर बन्दै आएका नगरवासीलाई प्राथमिकतामा राखेर स्थानीय सरकारले घर घरमै सेवा पुर्याउँने उदेश्यका साथ अभियान संचालन गरेको बताउनु भएको छ । उहाँले बढी भन्दा बढी नगरबासी कृषकलाई लाभ लिन अनुरोध गर्दै नगरवासीको पशुधन सुरक्षामा स्थानीय सरकार गम्भिर भएको समेत बताउनु भयो ।

कनकाई नगरपालिका र हेफर प्रोजेक्ट नेपालको साझेदारी साथै अभियान नेपालको सहजिकरणमा निशुल्क पशु स्वास्थ्य शिविर संचालन भईरहेको नगर कृषि शाखाका प्रमुख यदुनाथ उप्रेतीले जानकारी दिनुभयो ।

शिविरमा पशुपंक्षी तथा मत्स्य विकास शाखा कनकाईका प्रमुख तेजबहादु पौडेल, भेट्नरी अधिकृत कुलवहादुर गुरुङ्, परियोजनाका संयोजक केशव खनाल सहित पशु सेवासँग सम्बन्धित जिल्लाका प्रमुख तथा प्राविधिकहरुको टोलीले सहजीकरण गरिरहेको वडा १ का वडा सदस्य हरिकुमार राईले जानकारी दिनुभयो । कनकाई नगर क्षेत्रका कृषकहरुलाई लाभान्वित गराउँने उद्येश्यका साथ नगरका नौ वटै वडाको विभिन्न ३० वटा स्थानमा सेवा केन्द्र स्थापना गरी घुम्ती शिविर संचालन गरिएको पशुपंक्षी तथा मत्स्य विकास शाखा कनकाईका प्रमुख तेजबहादु पौडेलले जानकारी दिनुभयो ।

कृषकहरुको पशुधनको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै स्थानीय सरकारबाट भएको घुम्ती शिविर साथै निशुल्क औषधि वितरणको कार्यक्रमले कृषि तथा पशुपालनमा थप हौसला मिलेको स्थानीय कृषकहरुको भनाई छ । नगर क्षेत्रका प्रत्येक वडामा आवश्यक्ता अनुसार तीनदेखी पाँचवटा सम्म सेवा केन्द्र स्थापना गरेर पशु स्वास्थ्य शिविर संचालन गरेको कनकाईका भेट्नरी अधिकृत कुलवहादुर गुरुङ्ले जानकारी दिनुभयो ।शिविरको तेस्रो दिन बुधबार कनकाईको वडा नं.१ मा व्यवस्थापन गरिएको तीनवटा सेवा केन्द्रबाट सेवा प्रवाह भएको भेट्नरी अधिकृत गुरुङ्को भनाई छ । वडा न १ मा करिव ३ सय ५० भन्दा बढी सेवाग्राही लाभान्वीत भएको वडा १ को वडा सदस्य निर्मला खड्काले जानकारी दिनुभयो ।

कनकाई नगरपालिका र हेफर प्रोजेक्ट नेपालको साझेदारी साथै अभियान नेपालको सहजिकरणमा संचालन भएको कृषि तथा पशुपालन उद्यमशिलता विकास परियोजना अन्तर्गतको घुम्ती शिविरमा नगरपालिकाको ७५ प्रतिशत र हेफर प्रोजेक्टको २५ प्रतिशत गरी १७ लाखको बजेट व्यवस्थापन भएको कार्यक्रम संयोजक केशब खनालले जानकारी दिनुभयो । जस मध्ये तीन लाख रुपैंया प्रशासनीक खर्च साथै अन्य १४ लाख बराबरको औषधि निशुल्क वितरण गरिएको परियोजनाका संयोजक खनालको भनाई छ । कार्यक्रम संयोजक खनालका अनुसार शिविरमा गाईभैंसीको बाँझो पनको परिक्षण साथै आवश्यक औषधि वितरण गरिदै आईएको बताएको छ । त्यस्तै सबै जातका अन्य पशु चौपायको स्वास्थ्य परिक्षणका साथै रेविज भेक्सिन, बोका, सुँगुरको बन्ध्याकरण भिटामिन, क्याल्सियम, जुका नाम्लेको औषधि लगायत निशुल्क वितरण भईरहेको बताइएको छ ।

यस पटकको शिविरबाट कनकाई नगरपालिका क्षेत्रका ३५ हजार बढी सेवाग्राही लाभान्वीत हुने गरीको कार्य योजना निर्माण भएको शिविरमा सहजीकरण गरिरहेकी सामुदायिक सहजकर्ता चन्दा सिटौलाले बताउनुभयो । कनकाईको पशुपंक्षी तथा मत्स्य विकास शाखा अन्तर्गत अधिकृत तहका कर्मचारी साथै पशु स्वास्थ्य प्राविधिकसहित अन्य जनशक्ति समेत गरी ३० भन्दा बढी प्राविधिकहरु शिविरमा खटिएका छन् । दश दिनसम्म हरेक दिन विहान ९ बजेदेखि बेलुका ५ बजे सम्म फिल्डमै रहेर काम भइरहेको बताइएको छ । नगरमा यस अघि सबै वडामा बाख्रा पाठाहरुको स्वास्थ्य शिविर संचालन गरिएको कनकाई १ को वडा सदस्य संगीता लुवागुनले बताएकी छन ।