काठमाडौं , २५ माघ / क्यानडा र नेपालबीचको तीन खेलको ओडिआई सिरिज अन्तर्गत टियु मैदान कीर्तिपुरमा भएको पहिलो खेलमा नेपाल ७ रनले विजयी भएको छ । जितसँगै नेपालले तीन खेलको ओडिआई सिरिजमा १-० को अग्रता लिएको छ ।

जितेको लागि कप्तान पाैडेलले ८ दशमलब ५ अाेभर २ मेडन राखेर ४ विकेट लिएका थिए ।

नेपालले दिएको २ सय २५ रनको लक्ष्य पछ्याएको क्यानडाले ४७ दशमलब ५ ओभरमा अल आउट हुँदै २ सय १७ रन मात्र बनायो ।

क्यानडाका लागि निकोलस किर्टोनले ९९ बलमा ७ चौकाको सहयोगमा ६८ रनको अर्धशतकीय ईनिङ खेले । निकोलस पवन सरार्फको बलमा बोल्ड आउट भएका थिए । प्रगत सिंहले ५८ बलमा ९ चौकाको सहयोगमा ५० रनको अर्धशतकीय ईनिङ खेले । अर्धशतक बनाएका सिंहलाई कप्तान रोहितकुमार पौडेलको बलमा आउट भए । सिंहले निकोलस किर्टोनसँग मिलेर ७९ रनको साझेदारी गरेका थिए ।

हर्ष थाकरले ४३ बलमा ३ चौकाको सहयोगमा ३२ रन बनाए । थाकर कुशल मल्लको बलमा बोल्ड आउट भए ।

ओपनर नवदित धालीवाल रिजन ढकालको बलमा ६ रन बनाउँदै आरिफ शेखबाट क्याच आउट भए । ढकालको यो ओडिआईको पहिलो विकेट रहेको थियो । ढकालले यसै खेलबाट ओडिआई खेलबाट डेब्यु गरेका थिए ।

अर्का ओपनर आरन जोनसन १५ बलमा २९ रन बनाए । जोनसन सोमपाल कामीको बलमा बोल्ड आउट भए । जोनसनलाई २ दशमलब ५ ओभरमा सोमपाल कामीको बलमा ललित नारायण राजवंशीले १२ रन हुँदा क्याच मिस गर्न पुगेका थिए ।

४४ दशमलब २ ओभरमा क्यानडाका कप्तान साद विन जाफरलाई ललितनारायण राजवंशीले बोल्ड आउट भएसँगै नेपाल खेलमा फर्किएको थियो । ४२ दशमलब २ ओभरमा २ सय रन कटाए पनि क्यानडाका पछिल्लो क्रमका ब्याटरले खास प्रदर्शन गर्न सकेनन् ।

नेपालका लागि कप्तान रोहितकुमार पौडेलले चार र ललितनारायण राजवंशीले दुई विकेट लिए । पवन सरार्फ, कुशल मल्ल, सोमपाल कामी र रिजन ढकालले समान एक एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरको अन्तिम बलमा अल आउट हुदै २ सय २४ रन बनाएको थियो ।

नेपालका लागि कुशल भुर्तेलले ५८ बलमा ९ चौका र १ छक्काको सहयोगमा ६२ रनको अर्धशतकीय ईनिङ खेले । नेपालका लागि ओडिआईमा ४७ खेलमा भुर्तेलको सातौं अर्धशतक हो । भुर्तेलले २०२१ सेप्टेम्बर ७ मा ओमानमा भएको पपुवा न्युगिनीविरुद्धको सिरिजमा नेपालका लागि ओडिआईमा डेब्यु गरेका थिए ।

पहिलो विकेटका लागि भुर्तेल र आसिफ शेखबीच ४८ रनको साझेदारी भएको थियो । आशिफ २४ बलमा ८ रनमा बनाएर ९ दशमलब १ ओभरमा उदय भगवानको बलमा नबनित धालीवालाबाट समातिए ।

त्यस लगत्तै क्रिजमा आएका कप्तान रोहित कुमार पौडेल १४ दशमलब ३ ओभरमा ईश्वरजोत सोधिको बलमा हर्ष थाकरद्वारा क्याच आउट भए । कप्तान पौडेलले १७ बलमा १ चौकाको सहयोगमा ८ रन बनाएका थिए ।

ओपनर कुशल भुर्तेल १८ दशमलब ३ ओभरमा क्यानडाका कप्तान साद विन जाफरको बलमा विकेटकिपर श्रेयस मोभाद्वारा स्टम्पिङ आउट भए । उनले ५८ बलमा ९ चौका र १ छक्काको सहयोगमा ६२ रनको अर्धशतकीय ईनिङ खेले ।

भीम सार्कीले २६ बलमा २ चौकाको सहयोगमा १७ रन बनाए । भीम २२ दशमलब ३ ओभरमा कप्तान साद विन जाफरको बलमा एलबीडब्लु आउट भए ।

कुशल मल्ल ३२ बलमा १ चौका र १ छक्काको सहयोगमा २० रन बनाएर आउट भए । कुशल २९ दशमलब ३ ओभरमा हर्ष थाकरको बलमा निकोलस किर्टनद्वारा क्याच आउट भए ।