ठोस खबर / मोफसलकै प्रतिष्ठित र लोकप्रिय फुटबल प्रतियोगिता झापा गोल्डकपको छैटौँ संस्करणका लागि ड‍ोमालाल राजवंशी रंगशालामा प्यारापिट बन्न सुरू भएको छ ।

रंगशालामा करिब १० हजार दर्शक बस्न सक्नेगरी बाँसको प्यारापिट निर्माण धमाधम भईरहेको छ । अहिले मैदानको स्तरोन्नतिको काम समेत भइरहेको छ ।

झापा गोल्डकपको छैटौँ संस्करण यही फागुन १९ गते देखि २८ गतेसम्म बिर्ताबजारको डोमालाल राजवंशी रङ्गशालामा हुने भएको छ ।

छैटौँ संस्करणको झापा गोल्डकपको विजेताले नगद १३ लाख र उपविजेताले नगद सात लाख रुपैयाँ प्राप्त गर्नेछ । गोल्डकप सम्पन्न गर्न एक करोड ४० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।

प्रतियोगितामा आयोजकको तर्फबाट झापा ११ फुटबल क्लब, विभागीयसहित नेपालका ए डिभिजन क्लब र विदेशी क्लबको सहभागिता रहने झापा गोल्डकपको सचिवालयले जनाएको छ ।