कनकाई ,२५ फागुन / झापाको कनकाई नगरपालिका वडा नम्बर ७ ले यहाँका जेष्ठ मातासहित सात जनालाई सम्मान गरेको छ।

११४औ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा यहाँका तीन जना जेष्ठ माता, दुई जना महिला उद्यमी, एक महिला समूह र एक जना शिक्षासेवीलाई सम्मान गरेको हो । कार्यक्रममा जेष्ठ माताहरू पुण्यकुमारी पौडेल, मनमाया राय र नरमाया उप्रेतीलाई दोसल्ला र नगदसहित सम्मान गरिएको हो ।

त्यसैगरी पूर्व शिक्षिका मनकुमारी चुडाल, महिला उद्यमीद्वय मनिता चेम्जोङ र अम्बिका कुइँकेल मखमली महिला समूहलाई सम्मान गरिएको छ । उनीहरुलाई प्रमुख अतिथि संविधानसभा सदस्य सुशीला कन्दङ्वा, वडाध्यक्ष भीष्म भुसाल सिटौला लगायतका अतिथिहरुले सम्मान गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि कन्दङ्वाले महिला हकहितका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिइन । उनले महिलालाई संविधानले अधिकार दिए पनि त्यसको पूर्ण कार्यान्वयन हुन नसकेको बताईन ।

विभिन्न भजन कीर्तन समूहले भजन, नारी गीत, बालबालिकाहरुले सांस्कृतिक नृत्यहरू प्रस्तुत गरेको कार्यक्रममा नेकपा माओवादी केन्द्रका वडाध्यक्ष अनिरुद्र चापागाईं , संघीय लोकतान्त्रिक मञ्चका महेन्द्र कन्दङवा, ज्येष्ठ नागरिक संघका अध्यक्ष हरिप्रसाद सिवाकोटी, नगरस्तरीय बाल क्लबका अध्यक्ष अश्लेषा कडेल, सीता ओली लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा वडा अध्यक्ष भीष्मभूषण सिटौला, पूर्व कार्यपालिका सदस्य हरिलाल खवास, मुना बयालकोटी, भृकुटी माविका प्रधानाध्यापक चण्डीकाप्रसाद उपाध्याय, फक्तालुङ एजुकेसन फाउन्डेसनक प्रधानाध्यापक ओम विक्रम नेम्वाङलगायतको विशेष आतिथ्य रहेको थियो भने नेपाली कांग्रेस वडा सभापति ईश्वरीप्रसाद शिवाकोटी, नेकपा एमाले वडाध्यक्ष लीलाबहादुर कन्दङ्वा, राप्रपाका डिल्लीराम पोखरेल, नेपाल दलित उत्थान सञ्जालका कविता ल्वागुन, वडा सदस्य निर्मल आङ्थुपो, वडा सदस्य भगन टुडू लगायतको आतिथ्य रहेको थियो ।

वडा सदस्य सावित्रा कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा वडा सचिव तुलसा थापाले स्वागत गरेकी थिइन भने कार्यक्रमको सञ्चालन वडा सदस्य अरुणा सुब्बाले गरेकी थिइन ।