बिर्तामोड,२७ फागुन / मोफसलकै प्रतिष्ठित र लोकप्रिय फुटबल प्रतियोगिता बन्न सफल झापा गोल्डकको छैटौँ संस्करणको फाईनल खेल भोलि सोमबार हुँदैछ ।

बिर्तामोडस्थित डोमालाल राजबंशी रंगशालामा जारी खेलको फाइनल खेलमा चर्च ब्वाइज युनाइटेड र सशस्त्र प्रहरीको एपीएफ एफसी भीड्दैछन् ।

फाईनल खेल अाफ्नो टिमले जित्ने दुबै टिमकोदाबी छ । अायोजकले फाइनल खेलको पूर्व सन्ध्यामा अाईतबार बिर्तामोडमा गरेको प्रि–म्याच कन्फ्रेन्समा दुबै टिमले उपाधि हात पार्ने दाबी गरेका हुन । प्रि–म्याच कन्फ्रेन्समा चर्च ब्वाइजका टिम क्याप्टेन दीप कार्की र कोच रोबिन राईले फाइनलको उपाधि हात पार्ने दाबी गरेका थिए भने एपीएफ एफसीका टिम म्यानेजर सुशिल अधिकारी र क्याप्टेन हरि कार्कीले पनि उपाधि आफ्नो टिमले जित्ने दावी गरेका छन् । प्रि–म्याच कन्फ्रेन्सको सहजीकरण म्याच कमिस्नार केशवराज दाहालले गरेका थिए ।

फाईनल सम्मको यात्रा पूरा गर्न एपीएफले ए डिभिजनको संकटा युथ क्लबलाई टाइब्रेकरमा ४–२ ले हराउँदै क्वाटरफाइनलमा एपीएफले स्थान सुरक्षित गरेको थियो । क्वाटरफाइनलमा पनि एपीएफले टाइब्रेकरको सहारा लिनु परेको थियो । सर्लाहीको बागमती युथ क्लबलाई टाइब्रेकरमा ४–३ ले हराउँदै सेमिफाइनल प्रवेश गरेको थियो । उपाधिको दावेदार मानिएको त्रिभुवन आर्मी क्लबलाई सेमिफाइनलमा हराउँदै एपीएफले पहिलो पटक फाइनलमा प्रवेश गरेको छ ।

यता चर्च ब्वाइजले पहिलो खेलमा नेपाल पुलिस क्लबलाई २–० गोल अन्तरले हराएको थियो । चर्च ब्वाइजले क्वाटरफाइनल खेलमा ए डिभिजन क्लब एनआरटीमाथि १–० को नतिजा निकाल्यो । सेमिफाइनलमा आयोजक झापा ११ लाई टाइब्रेकरमा ४–३ ले हराउँदै चर्च ब्वाइजले फाइनलमा स्थान पक्का गरेको हो ।

प्रि–म्याज कन्फ्रेन्समा झापा गोल्डकपका अध्यक्ष बिनोद बस्नेत, निवर्तमान अध्यक्ष महेन्द्रकुमार गिरी, महासचिव गजेन्द्रबहादुर पौडेल, झापा फुटवल संघका अध्यक्ष भगीरथ आले (मामा) ले झापा गोल्डकपका बिषयमा उठेका प्रश्नको जवाफ दिएका थिए । कार्यक्रमको सञ्चालन गोल्डकपका सचिवालय सदस्य केशव भट्टराईले गरेका थिए ।

झापा गोल्डकपको बिजेताले १३ लाख रुपैयाँ नगद पुरस्कार, आकर्षक ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ । उपबिजेताले ७ लाख रुपैयाँ पाउने छ । फाइनलमा प्रत्येक खेलाडीले जनही २५ हजार रुपैंयाँ बिधागत पुरस्कारको रुपमा पाउने छन् ।