कनमाईमा प्रदेश स्तरिय भेट्रान कप फुटवल प्रतियोगिता हुँदै

ठोस खबर / झापाको कनकाई नगरपालिका ३ स्थित कनकाई माविको खेल मैदानमा यही चैत ३ गते देखि प्रदेश स्तरिय भेट्रान कप नकअाउट फुटवल प्रतियोगिता हुने भएको छ ।
कनकाई भेट्रान क्लब सुरुङ्गाको आयोजनामा “स्वास्थ्यका लागि खेल, राष्ट्रका लागि खेल” नारासहित भेट्रान कप २०८० तेस्रो संस्करण फुटबल प्रतियोगिता हुन लागेको हो ।
क्लबले सोमबार सुरुङ्गामा पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताबारे जानकारी दिदै चैत्र ३ गतेबाट सुरु भई चैत्र १० गते सम्पन्न हुने प्रतियोगितामा झापा, मोरङ र सुनसरीका ८ वटा टिमको सहभागिता रहेको जानकारी गराएको छ ।
प्रतियोगितामा विराटनगर भेट्रान क्लब, दमक लखनपुर भेट्रान क्लब, धरान भेट्रान क्लब, बिर्तामोड भेट्रान क्लब, कनकाई भेट्रान क्लब, उर्लाबारी भेट्रान क्लब, धुलाबारी भेट्रान क्लब र दुधे भेट्रान क्लब शिवसताक्षीको सहभागिता रहने तय भएको क्लबका अध्यक्ष श्यामकुमार राईले जानकारी दिनुभयो ।

प्रथम पुरस्कार १ लाख १ हजार र द्वितीय पुरस्कार ६५ हजार रुपैयाँ , प्रमाणपत्र , ट्रफी र मेडल साथै म्यान अफ द टुर्नामेन्टलाई नगद ५ हजार र म्यान अफ द म्याचलाई नगद २ हजार प्रदान गरिने गरि अायोजना गरिएको प्रतियोगिता सम्पन्न गर्न ५ लाख ७१ हजार रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको क्लबका कोषाध्यक्ष तथा प्रतियोगिताका आर्थिक समिति संयोजक सन्तोष लिम्बूले जानकारी दिनुभएको छ ।
प्रतियोगिता सम्पन्न गर्न स्थानीय सरकार कनकाई नगरपालिका , विभिन्न संघसंस्था , भेट्रान क्लब सदस्य तथा फुटबलप्रेमी व्यापारी, व्यवसायी र देशविदेशमा रहने महानुभावबाट खर्च जुटाइने खेल संयोजक उज्वल बाँस्तोलाले जानकारी दिनुभयो ।
प्रतियोगिताको उद्घाटन खेल बिराटनगर भेट्रान क्लब र दमक लखनपुर भेट्रान क्लबका वीच हुनेछ । खेलमा ४० वर्षमाथिका खेलाडीको मात्र सहभागिता रहने छ भने ५० बर्षमाथिका १ जना खेलाडी अनिवार्य रहेको छ ।
पत्रकार भेटघाटमा क्लबका संस्थापक अध्यक्ष राजेन्द्र खतिवडा , सल्लाहकार ज्योतिकुमार उप्रेती , प्रचारप्रसार संयोजक रमेश चन्द्र मैनाली, मैदान व्यवस्थापन समिति संयोजक राजेश अघोरी लगायतले पत्रकारले राखेका जिज्ञासाका जवाफ दिनुभएको थियो ।
