ठोस खबर /”स्वास्थ्यका लागि खेल, राष्ट्रका लागि खेल” मुल नाराका साथ झापाको सुरुङ्गामा जारी प्रदेश स्तरीय भेट्रान कप फुटबल प्रतियोगीतामा अायोजक कनकाई भेट्रानको टिम फाइनलमा प्रवेश गरेको छ ।

कनकाई भेट्रान क्लब सुरुङ्गाको आयोजनामा कनकाई नगरपालिका ३ सुरुङ्गा स्थित कनकाई माविको खेलमैदानमा जारी प्रतियोगिताको बिहिवार भएको दोस्रो तथा अन्तिम सेमिफाइनल खेलमा दुधे भेट्रान क्लब सिवसतासी लाई ट्राइब्रेकरमा ४-३ गोल अन्तरले हराउँदै कनकाई भेट्रान क्लब फाइनलमा प्रवेश गरेको हो ।

खेलमा पहिलो हाफको १२ अौं मिनेटमा अायोजक कनकाईका जर्सि नं. १४ का खेलाडी धनबहादुर गुरुङ्गले गोल गर्दै टिमलाई अग्रता दिलाए ।

सुरुवातबाटै निकै प्रतिस्पर्धात्मक देखिएको खेलको पहिलो हाफको ३० अौं मिनटमा सिवसतासीका जर्सी नं. ७ का खेलाडी रमेश गुरुङले गोल गर्दै कनकाई संग बराबरी गरे ।

खेलको पहिलो हाफमा बराबरी भएको खेल दोस्रो हाफमा झनै प्रतिस्पर्धात्मक देखियो । खेल समय भर दुबै तर्फबाट थप गोल हुनसकेन । बराबरी भए पछी खेल ट्राइब्रेकरमा धकेलियो ।
ट्राइब्रेकरमा सिवसतासी भेट्रानलाई ४-३ गोल अन्तरले पराजित गर्दै अायोजक कनकाई भेट्रान फाइनलमा प्रवेश गर्यो । अब फाइनलमा उपाधिकालागि कनकाई भेट्रान र बिर्तामोड भेट्रान बिच प्रतिस्पर्धा हुनेछ ।

खेलको म्यान अफ द म्याच कनकाईका जर्सि नं. १ का गोलकिपर सुनिल तामाङ घोषित भए । उनलाई कनकाई खेलकुद समितिका संयोजक जविन तिम्सिनाले स्पोन्सर गरेको नगद २ हजार रुपैयाँ स्पोन्सर कर्ता तिम्सिनाले प्रदान गरे ।

त्यस्तै खेलको सुरुवातमै पहिलो गोलकर्तालाई नगद १ हजार प्रदान गर्ने घोषणा गरेका खेल प्रेमी पुराना राष्ट्रिय खेलाडी लय प्रसाद उप्रेतीले पहिलो गोलकर्ता कनकाईका जर्सि नं. १४ का खेलाडी धनबहादुर गुरुङ्लाई नगद १ हजार प्रदान गरे ।

हाल अस्ट्रेलियामा रहदै अाएका समाज सेवी दुर्गा उप्रेतीले अायोजक संगको सेमिफाइनल खेलमा सामाजिक सञ्जाल मार्फत गोल स्कोरको पुर्वानुमा गरि मिलाउने मध्ये १ जनालाई नगद २ हजार पुरस्कार घोषणा गरेकोमा खेलको अनुमान स्कोर मिलाउने एकमात्र व्यक्ति कनकाई भेट्रान क्लबका अध्यक्ष श्याम राई मात्र रहेको हुदा उक्त पुरस्कार राशी दुर्गा उप्रेतीको तर्फवाट कनकाई भेट्रानका संस्थापक अध्यक्ष राजेन्द्रकुमार खतिवडाले राईलाई हस्तान्तरण गरे ।

फाईनल खेल चैत १० गते शनिवार हुने छ । प्रतियोगिताको विजेताले नगद पुरस्कार १ लाख १ हजार र उपविजेताले नगद ६५ हजार रुपैयाँ प्रमाणपत्र , ट्रफी र मेडल साथै म्यान अफ द टुर्नामेन्टले नगद ५ हजार प्राप्त गर्ने छन ।