संविधान कार्यान्वयनमा तीन तहकै सरकार सक्रिय बन्न आवश्यक

चन्द्र बस्नेत , ठोस खबर / झापाको कनकाई नगरपालिकाका नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले सहिदहरुको योगदानले निर्माण भएको संविधानको पूर्णरुपमा कार्यान्वयन गर्न तिन तहकै सरकार सक्रिय बन्न आवश्यक रहेको बताउनुभएको छ ।

दशौ संविधान दिवसको अवसरमा बिहीवार ( आज) कनकाई नगर परिसरमा नगरपालिकाले आयोजना गरेको झन्डोतलन कार्यक्रममा सम्बोधन गर्दै नगर प्रमुख पोखरेलले मौलिक अधिकारको विषय संविधानमा ग्यारेन्टी गरिए पनि कार्यान्वयन हुने सवालमा कमजोर देखिएको भन्दै संविधान पूर्णरुपमा कार्यान्वयन गर्न तीन तहकै सरकार सक्रिय हुन जरुरी रहेको बताउनुभएको हो ।
नगर प्रमुख पोखरेलले अहिलेको संविधानले नै सबैलाई अधिकार सम्पन्न गराएको भन्दै सबैखाले विचार, समुदाय, भूगोल, लिङ्ग, जाति र धर्मका भावनाहरुलाई यसले संरक्षण गर्न आवश्यक रहेको बताउनुभएको छ । उहाँले संविधानमा भएका कतिपय अधिकारहरु कार्यन्वयन अझै नभएका र हुने प्रक्रियामा रहेको समेत बताउनुभएको थियोे । संविधानमा धेरै मौलिक अधिकार रहेको बताउँदै नगर प्रमुख पोखरेलले तीनै तहका सरकारहरुले कतिपय कुराहरु कार्यन्यवनमा ल्याउन बाँकी रहेको बताउनुभयो । नगर प्रमुख पोखरेलले स्थानीय तह आएसँगै धेरै विकास निर्माण र नागरिकका अधिकारका कुरा भएको जानकारी दिदै अझैपनि धेरै काम गर्न बाँकी नै रहेको स्वीकार गर्नुभयो ।

उहाँले स्थानीय तहमा नापी, मालपोत कार्यालयहरु राख्ने अधिकार भएपनि राख्न नसकिएको र त्यसका लागि आफुहरुले माग गरिरहेको जानकारी गराउनु भयोे । कनकाईमा स्थानीय तह हुनु अघि १४ किलोमिटर कालोपत्रे रहेकोमा हाल ६० किलो मिटरभन्दा बढी कालोपत्रे तथा पेवर्शको काम भएको नगर प्रमुख पोखरेलले सुनाउनुभएको थियोे ।
कार्यक्रमको अवसरमा नगर प्रमुख पोखरेल, उप–प्रमुख शिवाकोटी वडा अध्यक्ष कार्यपालिका सदस्य वडा सदस्य सहित सहभागीद्वारा राष्ट्रिय झण्डा फहराउदै संविधानले दिएको अधिकारको उपयोग गर्दै देश र जनताकालागी आफ्नो ज्यानको आहुती दिने ज्ञातअज्ञात शहिदहरुप्रति श्रद्धासुमन अर्पण गर्नुभएको थियोे ।
त्यस्तै कार्यक्रममा कनकाई नगरपालिकाकी उपप्रमुख आशाशर्मा शिवाकोटीले दुई पटक संसोधन भएर आएको यो संविधानले जनताको मर्म र भावनालाई समेत सम्वोधन गरेकोले कार्यान्वयन तर्फ सबै एकजुट हुनु पर्नेमा जोड दिनुभयो । उहाँले संविधान सभाको प्रक्रियामा सहभागी दलका पाँच सय ३७ जना सभासदले हस्ताक्षर गरेको ‘नेपालको संविधान, २०७२’ मा ३५ भाग ३०८ धारा र ९ अनुसूची रहेको जानकारी गराउनु भयोे । उप प्रमुख शिवाकोटीले गतिशिल रुपमा रहेको यो संविधान जारी भएको तत्कालिन समयलाई स्मरण गर्दै विभिन्न राजनीतिक दलको अथक प्रयासबाट जारी भएको यो संविधान अन्ततः मुलुककै उत्कृष्ट भएको दाबी समेत गर्नु भयो ।

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले २०७२ असोज ३ गते ‘नेपालको संविधान २०७२’ जारी गरेको स्मरण गर्दै उप -प्रमुख शिवाकोटीले संसोधन सहितको यो संविधान कार्यान्वयनमा आएको नौ वर्ष पूरा भई दशौ वर्षमा प्रवेश गरेको यो अवसरमा केही संसोधन कुरा आएको भन्दै आवश्यकता अनुसार संसोधन गर्नुपर्ने बताउनुभयो ।

नगर प्रमुख पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा वडा न १ का वडा अध्यक्ष शुशिलकुमार पोखरेल , २ का अध्यक्ष वलराम राई ( प्रताप) ८ का अध्यक्ष लिला बहादुर कटुवाल , अन्य वडाका कार्यवाहक वडा अध्यक्ष , कार्यपालिका सदस्य ,वडा सदस्य , कर्मचारी सम्झना तिवारी , नगर प्रहरी , सन्चारकर्मी लगायतको सहभागीता रहेको कार्यक्रममा स्वागत उप- प्रमुख शिवाकोटीले गर्नु भएको थियोे भने सन्चालन कर्मचारी मनिता राईले गर्नुभएको थियोे ।
