दुर्गा प्रसाईँको पक्राउ पुर्जी फिर्ता नलिए महाअभियान अान्दोलनमा उत्रने

काठमाडौं, ३ भदौ / बीएण्डसी हस्पिटलका सञ्चालक दुर्गा प्रसाईँ नेतृत्वको राष्ट्र राष्ट्रियता धर्म संस्कृति नागरिक बचाउ महाअभियानले प्रसाईँविरुद्धको पक्राउ पुर्जी फिर्ता लिन आग्रह गरेको छ । सरकारले तत्काल फिर्ता नलिए आन्दोलन गर्ने सो संगठनले चेतावनीसमेत दिएको छ ।
महाअभियानले प्रेस विज्ञप्ति जारी गर्दै अभियानका केन्द्रीय संयोजक दुर्गा प्रसाईँ , प्रकाशचन्द्र दाहाल र जीवन पाण्डेमाथि कपोकल्पित र झुटो मुद्दा दायर गर्दै पक्राउ पुर्जी जारी गरी राज्यले दमनकारी नीति अपनाएको ठहर गरेको उल्लेख गरेको छ । सो नीति सरकारले तत्काल फिर्ता नलिए बिहिवार आज देशैभर विरोध सभा, राँके जुलुस, विरोध प्रदर्शन गर्ने र भोलिबाट देशैभर चक्काजाम , विरोध सभा, धर्ना लगायतका कार्यक्रम अघि बढाउने विज्ञप्तिमार्फत अभियानले चेतावनी दिएको छ ।
विद्युतीय कारोबार ऐनको व्यवस्था उल्लङ्घनको आरोपमा दुर्गा प्रसाईँसहित तीन जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको हो । काठमाडौँ जिल्ला अदालतले प्रसाईँ, जीवन पाण्डे र प्रकाशचन्द्र दाहाललाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको हो ।
उनीहरूमाथि विद्युतीय कारोबार ऐनको व्यवस्था उल्लङ्घन गरेको आरोपमा प्रहरीले पक्राउका लागि अनुमति माग गरेअनुसार न्यायाधीश महेन्द्र काफ्लेको इजलासले पुर्जी जारी गरेको छ ।
