सडन डेथमा बुद्धशान्तिलाई पाखा लगाउदै शिवसताक्षी कनकाई कपको क्वाटर फाईनलमा प्रवेश

ठोस खबर, २७ माघ / झापाको कनकाईमा जारी सातौ जिल्ला अन्तरपालिका स्तरीय फुटबल प्रतियोगिता “कनकाई कप २०८१” को तेस्रो दिनको खेलमा बुद्धशान्तिलाई सडन डेथबाट पाखा लगाउदै शिवसताक्षी क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
कनकाई खेलकुद प्रतिष्ठानको आयोजना तथा कनकाई नगरपालिकाको प्रायोजनमा कनकाई माविको खेल मैदानमा जारी प्रतियोगिताको तेस्रो दिन आईतवार शिवसताक्षी र बुद्ध शान्ति बिच भएको खेलमा खेलमा शिवसताक्षीले बुद्ध शान्तिलाई सडन डेथमा पराजित गरेको हो ।
खेल अबधि भर दुबै तर्फबाट २- २ गोलको बराबरी भए पछि खेल पेनाल्टीमा धकेलिएको थियो । पेनाल्टीमा समेत ४-४ गोलको बराबरी भएपछि सडन डेथमा गएको खेलमा शिवसताक्षी विजयी हुदै क्वाटरफाइनल प्रवेस गरेको हो ।
खेलको पहिलो हाफमा बुद्धशान्तिका खेलाडी सागर रसाईलिले खेलको १६ अौ मिनटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । त्यसको लगतै खेलको १८ मिनटमा उनै खेलाडीले २ मिनटको अन्तरमा गोल गर्दै टिमलाई २-० को अग्रता दिलाएका थिए ।
पहिलो हाफमा कुनै पनि गोल गर्न नसकेको शिवसताक्षी खेलको दोस्रो हाफ सुरुभएको दोस्रो मिनटमै रजिन माझीले गरेको गोलबाट लयमा फर्कीएको थियोे । त्यस्तै खेलको दोस्रो हाफको १३ मिनटमा शिवसताक्षीका खेलाडी हेमन लिम्बूले गोल गर्दै खेललाई बराबरी गरेका थिए । निर्धारित समयमा दुबै तर्फबाट थप गोल नहुदा खेल सडन डेथ सम्म धकेलिएको थियोे ।
खेलको म्यानअफ दी म्याच बिजेता टिमका गोल किपर घोषित भए । उनले म्यानअफ दी म्याचको मेडल र नगद २१ सय रुपैयाँ प्राप्त गरे । इमानसिंह निर्माण सेवाका संचालक रमेश खरेलले सौजन्य गरेको म्यान अफ दी म्याचको नगद रमेशका पिता सामाजिक व्यक्तित्व देवी खरेलले प्रदान गरेका थिए ।

झापा जिल्लाका १५ पालिका मध्ये १२ पालिकाको सहभागिता रहेको प्रतियोगिताको बिजयी हुने टिमले नगद १ लाख १५ हजार तथा उपबिजयी हुने टिमले नगद ६१ हजार रुपैँया पाउने आयोजक समितिका अध्यक्ष छवि थपलियाले बताएका छन ।
प्रतियोगीता अवधिभरका लागि एम्बुलेन्स सेवाको सहयोग कनकाई नगर अस्पताल र नेपाल रेडक्रस सोसाइटी सुरुङ्गा उपशाखाबाट भएको छ भने स्वास्थ्य सेवाको सहयोग सुरुङ्गास्थित न्युरो मेडिसिन सेन्टरबाट संचालक सरोज ठाकुरले गरिरहेको प्रतिष्ठानका सह सचिव गिता खरेलले जानकारी गराएकी छन।
प्रतियोगितामा सोमबारको खेल कनकाई नगरपालिका र कचनकवल गाउपालिका बिच हुने खेल संयोजक भुवन खतिवडाले जानकारी गराएका छन ।