ठोस खबर , २ फागुन / “खेल मार्फत राष्ट्रविकासको अभियान” नारालाई आत्मासात गर्दै झापाको कनकाईमा जारी सातौ जिल्ला अन्तरपालिका स्तरीय फुटबल प्रतियोगिता “कनकाई कप २०८१” को आठौं दिनको खेलमा पेनाल्टी सुटआउटबाट हल्दिबारीलाई हराउदै कनकाई सेमिफाईनलमा प्रवेश गरेको छ ।

कनकाई खेलकुद प्रतिष्ठानको आयोजना तथा कनकाई नगरपालिकाको मुख्य आर्थिक सहयोगमा कनकाई माविको खेल मैदानमा जारी प्रतियोगिताको आठौं दिन शुक्रबारको खेलमा हल्दिबारीलाई पेनाल्टी सुटआउटमा ५—४ गोल अन्तरले पराजित गर्दै कनकाई सेमिफाईनलमा प्रवेश गरेको हो ।

खेलको पहिलो हाफमा दुबै तर्फबाट गोल गर्ने धेरै अवसर पाए पनि ति अवसरहरुले जाली चुम्न सकेनन् ।
खेलको दोस्रो हाफ पनि उस्तै प्रतिस्पर्धात्मक देखिएको खेलमा ईन्जुरि समयमा कनकाईले पेनाल्टीको अवसर पाएको थियो तर उक्त अवसरलाई गोलमा परिणत गर्न नसकेपछि खेल बराबरिमा सकियो ।
निर्धारित समयमा कुनै पनि टिमले गोल गर्न नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको थियोे । पेनाल्टी सुटआउटमा हल्दिबारीलाई ५-४ गोल अन्तरले हराउदै कनकाई सेमिफाइनलमा प्रवेश गरेको हो ।

शुक्रबारको खेलको म्यान अफ द म्याच बिजयी टिम कनकाइका गोलकिपर विवेक वाग्ले घोषित भए । उनले मेडल सहित नगद २१ सय रुपयाँ प्राप्त गरे । उनलाई कनकाई वडा नं. २ का वडा सदस्य सुलभ भण्डारीले नगद २१ प्रदान गरे ।

प्रतियोगितामा अबको खेल सेमिफाइनलको चरणमा प्रवेश गरेको छ भने शनिबार पहिलो सेमिफाईनल खेल झापा गाउपालिका र गौरीगञ्ज गाउपालिका बिच हुने र आईतवार दोस्रो सेमिफाइनल खेल कनकाई नगरपालिका र भद्रपुर नगरपालिका बिच हुने प्रतिष्ठानका कोषाध्यक्ष डम्बर फुयालले जानकारी दिएका छन । शुक्रबारको खेलको प्रमुख अतिथि हल्दिबारी गाउपालिकाका अध्यक्ष रविन्द्र लङ्देन रहेका थिए ।

माघ २५ गते शुक्रबारबाट सुरु भएको खेल फागुन ७ गते सम्पन्न हुनेछ भने खेलमा जिल्लाका १२ पालिकाको सहभागिता रहेको छ । प्रतियोगिताको बिजयी हुने टिमले नगद १ लाख १५ हजार तथा उपबिजयी हुने टिमले नगद ६१ हजार रुपैँया साथै दुबै टिमले ट्रफी , मेडल र प्रमाणपत्र पाउने आयोजक समितिका अध्यक्ष छवि थपलियाले जानकारी दिएका छन ।

प्रतियोगीता अवधिभरका लागि एम्बुलेन्स सेवाको सहयोग कनकाई नगर अस्पताल र नेपाल रेडक्रस सोसाइटी सुरुङ्गा उपशाखाबाट भएको छ भने स्वास्थ्य सेवाको सहयोग सुरुङ्गास्थित न्युरो मेडिसिन सेन्टरबाट संचालक सरोज ठाकुरले गरिरहेको प्रतिष्ठानको सह सचिव गिता खरेलले वताएकी छन ।