शिवसताक्षीले गर्यो गौरादहको गोलपोस्टमा गोल बर्षा


कनकाई , २७ फागुन / झापाको कनकाईमा जारी जिल्ला स्तरीय महिला फुटबल प्रतियोगिताअन्तर्गत मंगलबार भएको खेलमा गौरादह नगरपालिकाको गोल पोस्टमा गोल बर्षा गर्दै शिवसताक्षी विजयी भएको छ ।
कनकाई खेलकुद प्रतिष्ठानको आयोजनामा प्रसिद्ध पर्यटकीयस्थल जामुनबारी सामुदायिक वनको प्राकृतिक खेल मैदानमा मंगलबार भएको पहिलो चरणको अन्तिम खेलमा गौरादह नगरपालिका लाई ८-० गोल अन्तरले गौरादहलाई हराउँदै शिवसताक्षी नगरपालिकाको महिला फुटबल टिम विजयी भएको हो ।
खेल अवधि भर शिवसताक्षीका खेलाडीले गौरादहलाई दबाबमा राखेका थिए । खेलको पहिलो हापमा २ गोल लगाएको शिवसताक्षी नगरपालिकाले दोस्रो हापमा थप ६ गोल गरेसगै गौरादह माथीशिवसताक्षी नगरपालिकाको महिला फुटबल टिमले ८-० को जित दर्ता गरेको हो ।
पहिलो सेमिफाइनलका खेल बुधबारबाट सुरु हुने र पहिलो सेमिफाइनलमा काकरभिट्टाको महिला फुटबल टिम र बाह्रदशीको महिला फुटबल टिमबीच प्रतिस्पर्धा हुने खेल संयोजक गीता खरेलले जानकारी दिनुभयो ।
प्रतियोगिताको विजेताले १ लाख १ हजार रुपैयाँ र उपविजेताले ५१ हजार रुपैयाँसहित ट्रफी मेडल र प्रमाणपत्र पाउने आयोजक कनकाई खेलकुद प्रतिष्ठानका अध्यक्ष छवि थपलियाले जानकारी दिनुभयो ।
जिल्लाका ८ टिम सहभागी प्रतियोगिताको फाइनल खेल आगामी चैत २ गते हुनेछ । प्रतियोगिताको मुख्य प्रायोजक कनकाई नगरपालिका रहेको प्रतियोगितामा जामुनबारी सामुदायिक वन उपभोक्ता समूह एवं जामुनखाडी सिमसार तथा पर्यटकीय क्षेत्र सहआयोजकका रुपमा रहेको छ।