ठोस खबर , १२ चैत्र / कनकाई भेट्रान क्लबको आयोजनामा भएको वडा स्तरिय भेट्रान फुटवल प्रतियोगिताको उपाधी वडा नं. ३ ले उठाएको छ ।

“स्वास्थ्यका लागि खेल, राष्ट्रका लागि खेल” नारासहित कनकाईको नगर स्तरीय भेट्रान टिमको समेत क्षनौट गरिने गरि कनकाई माविको खेलमैदानमा आयोजना गरिएको प्रतियोगिताको मंगलबार सम्पन्न फाईनल खेलमा वडा नं. ७ लाई ४-१ गोल अन्तरले हराउदै कनकाई ३ ले उपाधी हात पारेको हो ।

पहिलो हाफ प्रतिष्पर्धात्मक रहेको खेलको दोस्रो हाफको ११ मिनटमा वडा नं. ३ का खेलाडी पर्शुराम चौलागाईंले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । त्यसको लगत्तै ३ कै अर्का खेलाडी सुजन पाठकले खेलको १६ अौ मिनटमा गोल गर्दै अग्रता दोब्बर बनाएका थिए ।
२-० को अग्रता रहेको खेलको २१ अौ मिनटमा कनकाई ७ का खेलाडी नविन घिमिरेले गोल गर्दै गोल अन्तर घटाएका थिए । त्यसको लगत्तै वडा नं. ३ का खेलाडी उज्वल बास्तोलाले खेलको २४ अौ मिनटमा गोल गरे भने खेलको २९ अौ मिनटमा सुजन पाठकले गोल गर्दै टिमलाई ४-१ गोल अन्तरले विजयी वनाउदै उपाधी हात पारे ।

यो जित संगै वडा नं. ३ ले प्रथम पुरस्कार नगद २१ हजार ट्रफी , मेडल र प्रमाण पत्र हात पारेको छ भने उपविजेता कनकाई ७ ले नगद ११ हजार ट्रफी , मेडल र प्रमाण पत्र हात पारेको छ ।


विजेता उपविजेता लाई कनकाई ३ का वडा अध्यक्ष युवराज चौलागाईं , सदस्य अनिल गोयल, खेल संयोजक दिलकुमार कार्की , कल्बका अध्यक्ष श्यामकुमार राई लगायतले पुरस्कार प्रदान गरेका थिए ।

खेलको म्यान अफ दी म्याच कनकाई ३ का पहिलो गोलकर्ता खेलाडी पर्शुराम चौलागाईं घोषित भए । उनलाई म्यान अफ दि म्याचको नगद पुरस्कार होटल ब्यवसायी संघ सुरङ्गाका अध्यक्ष कुमार श्रेष्ठले प्रदान गरे । प्रतियोगिताको उत्कृष्ट खेलाडी कनकाई ३ का खेलाडी उज्वल बास्तोला घोषित हुदै ट्रफी सहित नगद पुरस्कार प्राप्त गरे । उनलाई वडा नं. ३ का वडा सदस्य अनिल गोयलले पुरस्कार प्रदान गरे ।

चैत्र ५ गते बाट सुर भएको प्रतियोगितामा नगरको ६ नम्बर बडा बाहेक ८ वटा वडाका टिमले सहभागीता जनाएका थिए ।