भरतपुर , २५ चैत्र / चितवनमा निलगाईको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका २५ स्थित राप्ती दुन सामुदायिक वनमा निउरो टिप्न गएकी लक्ष्मी नेपालीको मृत्यु भएको हो । 

निलगाईको आक्रमणबाट भरतपुर २४ बस्ने ६५ वर्षीय लक्ष्मी नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । उनी आइतबार दिउँसो २ बजेको समयमा साथीहरुसँग वनमा निउरो टिप्न गएकी थिइन् । 

निउरो टिप्ने क्रममा अचानक निलगाईले आक्रमण गर्दा उनको शरिरको दाहिने कोखामा चोट लागेको थियो ।

निलगाईको आक्रमणबाट घाइते भएकी नेपालीको भरतपुर अस्पतालमा उपचारको क्रममा आइतबार बेलुका ४ः१५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।