ताप्लेजुङ , ६ बैशाख / आफ्नै गृह जिल्लामा नेकपा एमालेका सचिव तथा ताप्लेजुङका सांसद योगेश भट्टराई शौचालयमा थुनिएका छन् ।

शुक्रबार कञ्चनजंघा हिरक महोत्सवको उद्‌घाटनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री बद्रीप्रसाद पाण्डेसहित हेलिकोप्टरबाट ताप्लेजुङको लेलेप पुगेका भट्टराई शौचालय गएको बेला ‘नो केबलकार’ समूहले घेरा हालेपछि शौचालयमै थुनिएका हुन् । 

उद्घाटन कार्यक्रम सम्पन्न भएपछि मन्त्री पाण्डे हेलिकप्टर भएतिर गएका थिए भने उनीसँगै रहेका सांसद योगेश भट्टराई कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को भवनमा रहेको शौचालयतिर लागेका थिए । जब भट्टराई सिंढी चढेर शौचालय उक्लिएका थिए , वरपर रहेका स्थानीयले उनीविरुद्ध नाराबाजी सुरु गरेका थिए ।

आन्दोलनकारीले शौचालयमै घेरा हालेपछि प्रहरीले शौचालयको ढोकामा चुकुल हालेर सांसद भट्टराईलाई सुरक्षा दिएको थियो । केहीबेर पछि प्रहरीको जनशक्ति थपिएर भीड तितरबितर पारेपछि भट्टराई बाहिर आए । उनलाई प्रहरीले हेलिकोप्टरसम्मै सुरक्षा दिनुपरेको थियो।

लिम्बू संस्कार सस्कृतिमाथि भट्टराईले प्रहार गरेकाले आफूहरूले विरोध स्वरुप प्रदर्शन गरेको स्थानीयले बताएका छन । 

भट्टराईमाथि आक्रमणसम्मकै प्रयास भएपछि प्रहरी र स्थानीयबीच ठेलमठेल भएको थियो। स्थानीयले भने आफूहरूमाथि कुटपिट भएको दाबी गरेका छन् । तर प्रहरीले भने भीड तितरबितर पार्ने क्रममा ठेलाठेल भएको जनाएको छ ।