सुनसरी , १२ जेठ /सुनसरीको भोक्राहा नरसिंहमा सोेमबार दिउँसो ट्रयाक्टरको ठक्करबाट दुई जनाको मृत्यु भएको छ ।पूर्वपश्चिम राजमार्ग अन्तर्गत नरसिंहमा ट्रयाक्टरको ठक्करबाट मोटरसाइकलमा सवार इनरुवा वडा नं. १० का  २० वर्षे सर्पराज अन्सारी र हरिनगर वडा नं. १ का २१ वर्षे महजित अन्सारीको मृत्यु भएको हो । दुवै जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।  

भोक्राहा नरसिंहमै सञ्चालित सप्तकोशी न्यूरो अस्पतालमा उपचारको क्रममा सर्पराजको दिउँसो २ बजेतिर र महजितको दिउँसो २ः२० बजे मृत्यु भएको हो । पश्चिमबाट पूर्व आउँदै गरेको प्र– ०१–०२–००३ त ९०२ नम्बरको ट्रयाक्टरले विपरित दिशामा रहेको प्र–१–०२–०५५ प ६२९६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको थियो ।

दुर्घटनापछि पूर्वपश्चिम राजमार्ग अन्तर्गत भोक्राहा नरसिंह सडक खण्ड केहीबेर स्थानीयले अवरुद्ध गरकन थिए । जसमा इलाका प्रहरी कार्यालय लौकहीबाट पाँचजना र जिल्ला प्रहरी कार्यालयबाट २७ गरि ३२ जनाको प्रहरी टोलीले स्थिति सहज बनाएर अवरुद्ध यातायात खुलाएको थियो । प्रहरीले ट्रयाक्टर चालक भोक्राहानसिंह वडा नं. ३ का ४६ वर्षे सुब्जी राम चमारलाई  नियन्त्रणमा लिइ अनुसन्धान थालेको छ ।