अर्जुनधारा , २५ असार / झापाको अर्जुनधारामा आफ्ना श्रीमान् अर्की युवतीको कोठामा गएको भन्दै भएको कुटपिटबाट एक जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार मृत्यु हुनेमा अर्जुनधारा ४ भाङबारी घर भई हाल शनिश्चरे क्याम्पसनजिक प्रकाश गिरीको घरमा डेरा गरेर बस्ने २२ वर्षीया गंगा रार्ई रहेकी छन् ।

आफ्ना श्रीमान् रमेश भुसाल अर्की युवती गंगा रार्ईको कोठामा गएको भन्दै सुस्मिता भुसालले साथी भेला गरेर कुटपिट गर्दा गंगा राईको मृत्यु भएको जनाइएको छ ।

प्रहरीले घटनामा संलग्न रहेको आरोपमा अर्जुनधारा-८ बस्ने ३२ वर्षीया सुस्मिता भुसाल, ५४ की मैया श्रेष्ठ, ३८ वर्षीया बबिता विक, २४ वर्षीया मेनुका पाँचकोटे र ६० वर्षीया नर्बदा सुनदासलाई पक्राउ गरेको छ ।

हिजो राति ११.३० बजे भोजपुर रामप्रसादराई गाउँपालिका-६ बैकुण्ठे घर भई अर्जुनधारामा विश्व चौधरीको घरमा डेरा गरेर भुसालले अन्य महिलाको साथमा राईमाथि सामुहिक कुटपिट भएको थियो ।

घाइते राईलाई शंकर अस्पताल शनिश्चरेमा सामान्य उपचारपछि थप उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोड भर्ना गरिएको थियो ।

उनको उपचारको क्रममा आज बिहानको राति १ः२० बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडले जनाएको छ । मृतकको शव सोही अस्पतालमा रहेको छ ।

प्रहरीले कुटपिटमा संलग्न पाँचजना महिला र सुस्मिता भुसालका श्रीमान रमेश भुसाल समेतलाई नियन्त्रणमा लिएको जनाएको छ ।

उनीहरुलाई इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडमा ल्याएको छ । घटनाबारे अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।