बिर्तामोड, २९ असार / झापा जिल्लाको बिर्तामोड नगरपालिका–१० पथरभिट्टामा आफ्नै नयाँ निर्माणाधीन घरमा पानी हाल्न मोटर जोड्ने क्रममा अचानक करेन्ट लाग्दा एक व्यक्तिको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही स्थानमा बसोबास गर्दै आएका ५३ वर्षीय पुष्प पोखरेल रहेका छन् । शनिबार साँझ करिब ८ बजे आफ्नै नयाँ निर्माणाधीन घरमा पानी हाल्न मोटर जोड्ने क्रममा अचानक करेन्ट लाग्दा उनी गम्भीर घाइते भएका थिए ।

छिमेकी भवानी घिमिरेले करिब ८:४० बजे पोखरेललाई बिर्तामोडस्थित बिएण्डसी अस्पताल पुर्याएका थिए। तर अस्पतालमा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

प्राप्त जानकारीअनुसार पोखरेल घरमा एक्लै बस्दै आएका थिए भने उनका परिवार पाँचथरमा बसोबास गर्ने गर्छन्।

मृतकको शव हाल बिएण्डसी अस्पतालमै राखिएको छ। घटनाबारे थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउन इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी अधिकृतको कमाण्डमा टोली खटिएको झापा प्रहरीले जनाएको छ।