कनकाई, १ साउन / झापाको कनकाई नगरपालिका–४ स्थित कनकाई धाममा श्रावणी पर्वको अवसरमा बोलबम लक्षित रुद्राभिषेक तथा विशेष पूजाआर्चना गरिने भएको छ ।
कन्काई धाम धार्मिक विकास संस्थाको आयोजनामा श्रावण महिनाको विषेश अवसरमा रुद्राभिषेक तथा पूजाआर्चना कार्यक्रम गर्न लागिएको धाम परिसरमा आज आयोजित पत्रकार सम्मेलनमा धामका धार्मिक उपाध्यक्ष एवम् कार्यक्रम संयोजक प्रकाश थापाले जानकारी दिनुभयो ।

कन्केश्वर महादेवको पवित्र मन्दिर रहेको कनकाई धामले नेपाल, भारत, भुटान लगायत देश–विदेशका श्रद्धालु भक्तजनलाई आध्यात्मिक शान्तिको अनुभूति गराउँदै आएको बताउनुहुँदै धामकका अध्यक्ष शेरबहादुर थापाले यस वर्ष पनि बोलबम पर्वलाई लक्षित गरी विभिन्न कार्यक्रम गर्न लागिएको बताउनुभयो ।

पवित्र कनकाई नदीबाट जल ल्याएर कनकेश्वर शिवलिङ्गमा जलार्पण गर्ने, ब्राह्मण तथा बटुकहरुद्वारा वैदिक विधिमा रुद्राभिषेक, रुद्री पाठ, हवन तथा विशेष पूजन गरिने, साँझ ६ बजे कन्काई आरती तथा प्रसाद वितरण गरिने, विभिन्न कलाकार तथा भजन मण्डलीद्वारा भजन–कीर्तन, कार्यक्रम अवधिभर शिव स्तुति तथा मन्त्रोच्चारण गरिने कार्यक्रम रहेको कार्यक्रम संयोजक थापाले बताउनुभयो ।

त्यस्तै, स्वयम्सेवकमार्फत भक्तजनको सुरक्षाको व्यवस्था, पिउने पानी र मन्दिर सरसफाइ लगायतका कार्य गरिने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

विशेष पूजामा कर्ताका रुपमा सहभागी बन्न इच्छुक श्रद्धालु भक्तजनहरुले संस्था अध्यक्ष शेरबहादुर थापा (मोबाइल नम्बर ९८५१०५१२१८), कार्यक्रम संयोजक प्रकाश थापा (मोबाइल नम्बर ९८०६०७३१७२) वा कार्यालयको फोन नं. ०२३–५५२५२५ मा सम्पर्क गरी नाम दर्ता गराउन सकिने धामले जनाएको छ ।

कार्यक्रममा धामका सल्लाहकार सदस्य चन्द्र मैनाली (भतिज)ले धामको विकासमा सबैले सहयोग गर्नुपर्नेमा जोड दिँदै भक्तजन भित्र्याउन सर्वपक्ष पहल आवश्यक रहेको उल्लेख गर्नुभयो ।

पत्रकार सम्मेलनमा स्वागत मन्तव्य राख्नुहुँदै धामका वरिष्ठ उपाध्यक्ष निर्मल कुमार खतिवडाले भगवान शिवको प्रिय महिनाको रुपमा रहेको साउन महिनामा विशेष पूजा आर्चना गर्न लागिएको बताउनुभयो ।

धामका अध्यक्ष थापाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन धार्मिक विकास संस्थाका सदस्य धनपति चापागाईंले गर्नुभएको थियो । योपटक ५० हजार भन्दा बढी भक्तजनहरूले कोटि होमको दर्शन गर्ने आयोजकले अनुमान गरेको छ । कन्काई धार्मिक विकास संस्थाले साउन महिनामा आएर जल चढाउन तथा प्रत्येक सोमबार हुने कन्काई आरतीमा सहभागी भइदिनका लागि सम्पूर्ण भक्तजनहरुमा अनुरोध समेत गरेको छ ।

पत्रकार सम्मेलनमा धामकी पर्यटन उपाध्यक्ष अम्बिकादेवी खरेल, महासचिव दिनानाथ खतिवडा, सचिव यामनाथ खतिवडा, कोषाध्यक्ष मानबहादुर पौडेललगायत अन्य सदस्यहरुको उपस्थिति रहेको थियो ।