ठोस खबर / झापाको कनकाई नगरपालिका–३, सुरुङ्गास्थित दिब्य रत्न आवासीय माध्यमिक विद्यालयका छात्राहरूको ‘मेचे सांस्कृतिक नृत्य’ राष्ट्रिय मञ्चमा चम्किने भएको छ ।

इन्ट्रा नेशनल वएलफेयर एण्ड सपोर्ट अफ अमेरिका द्वारा काठमाडौंमा जारी “मेरो डान्स यूनिभर्स” सिजन – २ कार्यक्रममा नेपालको मौलिक जातीय पहिचान बोकेको ‘मेचे जातिको’ सांस्कृतिक नृत्य प्रस्तुत गर्न आज मंगलबार बिद्यालयको टोली काठमाडौंतर्फ प्रस्थान गरेको छ ।

कनकाई नगरकै प्रतिनिधित्व गर्दै काठमाडौ प्रस्थान गरेको नृत्य समुहलाई सफलताको सुभकामना सहित विधाई गर्दै कनकाई नगरपालिकाका मेयर राजेन्द्रकुमार पोखरेलले यस्ता कार्यक्रमहरूले विद्यार्थीमा नेतृत्व विकास गर्नुका साथै स्थानीय पहिचानलाई राष्ट्रिय स्तरमा पुर्‍याउँन् समेत सहयोग गर्ने वताउनु भयो ।

विद्यालयका प्रधानाध्यापक सागर ढुंगानाले छात्राहरूको समर्पण र कलात्मक प्रस्तुति विद्यालयको गौरवको विषय भएको उल्लेख गर्दै सफलताको शुभकामना सहित पाएको अवसरलाई चुनौतिको रुपमा लिदै बिद्यार्थीहरुले उत्कृष्ट प्रस्तुति दिने विश्वास व्यक्त गर्नुभएको छ ।

नृत्य तयारीका लागी देश तथा विदेशबाट आमन्त्रित संगीतकर्मीहरूको सहयोगमा आधुनिक र मौलिक संगीत संयोजन गरिएको छ । नृत्य निर्देशनमा नेत्र उप्रेती र अमन गुप्ताले संयोजकको भूमिका निर्वाह गर्नुभएको छ भने सुभाष मेचेले मेचे समुदायको सांस्कृतिक पक्षलाई कलात्मक रूपमा मञ्चमा उतार्न महत्वपूर्ण योगदान दिनुभएको छ ।

“मेरो डान्स यूनिभर्स” सिजन – २ को गत वर्ष चैत २ र ३ गते बिर्तामोडमा सम्पन्न खुला सांस्कृतिक प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै छनौट भएका दिव्यरत्नका छात्राहरूको टोली यसपटक राजधानीमा आफ्नो सांस्कृतिक प्रतिभा प्रस्तुत गर्न उत्साहित पनि रहेका छन ।

मेचे जाति नेपालका प्रमुख आदिवासी जनजातिमध्ये एक हो भने जसको मुख्य वसोवास झापा जिल्लामा रहेको छ । उनीहरूको विशिष्ट जीवनशैली , भाषा , पोशाक , र परम्परागत धार्मिक मान्यताहरू छन् । मेचे समुदायको मौलिक नृत्य नेपालको सांस्कृतिक सम्पदा हो , जुन चाडपर्व, विवाह, धार्मिक अनुष्ठानहरूमा सामूहिक रूपमा प्रस्तुत गरिन्छ । परम्परागत रङ्गीन पोशाकमा सजिएर पुरुष र महिलाहरू ढोल, मादल र अन्य लोक बाजाको तालमा प्रस्तुत गर्ने यो नृत्य नेपालको समृद्ध सांस्कृतिक विविधताको उत्कृष्ट उदाहरण पनि हो ।