कनकाइ नगरपालिकाले असोज ७ देखि सेवा सुचारु गर्ने

झापा, ५ असोज / गत भदौ २४ गते जेन-जी आन्दोलनको क्रममा तोडफोड र आगजनी भएपछि ठप्प भएको कनकाई नगरको सेवा असोज ७ गतेदेखि सुचारु हुनृ भएको छ ।
जतिसक्दो चाँडो सेवा प्रवाह गर्नुपर्ने भएकाले धेरै कुरा मर्मत र थोरै कुरा खरीद गरेर नगरपालिकाको सेवा सुचारु हुने नगरप्रमुख राजेन्द्र पोखरेलले जानकारी दिनुभयो । आवश्यक सरसफाई लगायत काम सकिएको उहाँले बताउनुभयो ।
नगरपालिकाले तय गरेका धेरै योजनाहरु टेण्डर प्रक्रियामा गइसकेको बताउनुहुँदै नगरप्रमुख पोखरेलले भन्नुभयो, “केन्द्रको बजेटका कारण पर्ख र हेरको अवस्था छौं ।” हरेक नागरिकको श्रम र पसिनाबाट बनेको नगरपालिका र वडा कार्यालयहरुमा हालको अवस्थामा आउँदा आफू अत्यन्तै दुःखी भएको उहाँले बताउनुभयो ।
“भोलि जोसुकै आए पनि यो संस्थागत संरचना रही रहनुपर्छ”, उहाँले भन्नुभयो, “यसमाथिको आक्रमणको जति नै निन्दा गरे पनि कम हुन्छ ।” समयले नसोचेका घटनाक्रम आइलाग्ने बताउनुहुँदै उहाँले भन्नुभयो, “खण्डहर बनेको नगरपालिकालाई हामी सबैले उत्कृष्ट बनाउन लाग्नुपर्छ ।”
न्यूनतम् पूर्वाधार पूरा गरेर नगरपालिकाको सेवा सुचारु गर्ने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण न्यौपानेले बताउनुभयो । “प्राथमिकताका आधारमा काम अघि बढाउँछौं”, उहाँले भन्नुभयो, “७ गतेदेखि नगरपालिका र सबै वडाबाट निरन्तर सेवा प्रवाह हुन्छ ।”
