झापा ,२१ असोज / पछिल्ला दिनमा आएको भीषण वर्षा र त्यसबाट उत्पन्न बाढीका कारण झापा गाउँपालिकाको वडा नं १, २ र ३ का बासिन्दा गम्भीर रूपमा प्रभावित भएका छन् । स्थानीय स्रोतका अनुसार बाढीले सयौं घरधुरी डुबानमा पर्दा निजी आवास, पशुपन्छी, धान, आलु लगायतका कृषिजन्य बालीमा ठूलो क्षति पुगेको छ।

पीडित क्षेत्रका बासिन्दाले तत्काल राहत र दीर्घकालीन पुनर्निर्माणको माग गर्दै संघीय, प्रदेश र स्थानीय सरकारको ध्यानाकर्षण गराएका छन्। स्थानीय बासिन्दा तथा जनप्रतिनिधिहरूले यस क्षेत्रलाई “विपद् संकटग्रस्त क्षेत्र” घोषणा गरी विशेष पुनर्निर्माण प्याकेज घोषणा गर्न अनुरोध गरेका छन्।

उनीहरुका अनुसार हरेक वर्ष दोहोरिने यस्ता बाढी घटनाले स्थानीय जनजीवन र कृषि उत्पादनमा गम्भीर असर पार्दै आएको छ। त्यसैले दीर्घकालीन समाधानका लागि ठोस योजना र पूर्वाधार निर्माण आवश्यक रहेको उनीहरूको माग छ।

स्थानीय स्तरमा तत्काल उद्धार, राहत र पुनर्वास कार्य अघि बढाउन र भविष्यमा यस्ता प्राकृतिक प्रकोपबाट स्थायी रूपमा जोगिन संघीय, प्रदेश तथा स्थानीय सरकारबीच सहकार्यमा दीर्घकालीन योजना निर्माण र कार्यान्वयन गर्नुपर्ने जनस्तरबाट जोड दिइएको छ।