कनकाईमा लियो दुर्गापुर प्रथम वडा स्तरीय फुटबल प्रतियोगिता हुने

ठोस खबर, २४ असोज / झापाको कनकाईमा ‘लियो दुर्गापुर प्रथम कनकाई नगर वडास्तरीय नक आउट फुटबल प्रतियोगिता-२०८२’ हुने भएको छ ।
लियो क्लब अफ कनकाई दुर्गापुरको आयोजनामा यही असोज २८ गते देखि कात्तिक २ गतेसम्म वडास्तरीय नकआउट फुटबल प्रतियोगिता हुने भएको हो । कनकाई-१ स्थित प्रजापति सामुदायिक वन उपभोक्ता समितिको खेल मैदानमा प्रतियोगिता हुन लागेको र खेल ९ साईडको हुने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
युवाहरूमा खेलप्रतिको रुची जगाउन, शारीरिक स्वास्थ्य सुधार गर्नु र सहकार्य, अनुशासन तथा प्रतिस्पर्धात्मक भावनाको विकास गर्ने मुख्य उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको क्लबका सचिव तथा प्रतियोगिता संयोजक रिजन तिम्सिनाले जानकारी दिनुभयो ।
प्रतियोगितामा विजेताले नगद रु २५ हजार ११५ र उपविजताले रू १५ हजार ११५, ट्रफी, मेडल र प्रमाण पत्र पाउने लियो क्लब अफ कनकाई दुर्गापुरका अध्यक्ष अभिषेक खड्काले बताउनुभयो । प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, म्यान अफ द म्याच लगायतका विधामा खेलाडीलाई पुरस्कार प्रदान गरिने उहाँले बताउनुभयो ।
क्लबका द्वितीय उपाध्यक्ष गप्पु अग्रवालले प्रतियोगिता फिफाको नियमअनुसार हुने बताउनुभयो । प्रतियोगितामा सम्बन्धित वडाका बाहेक अन्य खेलाडीले खेल्न नपाउने र यदि अन्यत्रको खेलाडीले खेलेको पाइएमा पुरै टिमलाई निष्कासन गरिने बताउनुभयो । वडाले सिफारिस गरेको आधारमा खेलाडीले खेल्न पाउने उहाँको भनाइ छ।
प्रतियोगिता सम्पन्न गर्न करिब रू २ लाख ४ हजार २३० खर्च हुने आयोजकले जनाएको छ । प्रतियोगितामा कनकाई नगर क्षेत्रका ९ वटै वडाका टिमको सहभागिता रहनेछ ।
प्रतियोगितामा प्रत्येक दिन दुईवटा खेल हुनेछन् । पहिलो हाफ र दोस्रो हाफ गरी ३०/३० मिनेटको खेल हुनेछ । प्रतियोगिताको टाईसेट आगामी २६ गते प्रकाशित गरिने आयोजकले जनाएको छ।
खर्च व्यवस्थापनका लागि कनकाई नगरपालिका, नौ वटै वडा, नगरका विभिन्न सामाजिक संघसंस्थालाई प्रस्ताव पेश गरिएको र सहयोगको लागि आश्वासन प्राप्त भएको पत्रकार सम्मेलनमा जानकारी दिइयो। प्रतियोगिता सफल पार्न दाताहरूको सहयोग महत्वपूर्ण भएकाले सहयोग गरिदिन सबैमा अपिल समेत गरिएको छ।
पत्रकार सम्मेलनमा लायन्स क्लब कन्काई दुर्गापुरका अध्यक्ष भुवन खतिवडा, क्लबका प्रथम उपाध्यक्ष आशिष प्रधान , सह सचिव त्रिसा भित्रीकोटी , सह कोषाध्यक्ष सुप्रिया पाठक सदस्यहरु सुनिता ढकाल, संरचना खरेल लगायतको उपस्थिति रहेको थियो ।
