कनकाई सामुदायिक वनको २४ औं टोल भेला सम्पन्न

ठोस खबर / झापाको कनकाई नगरपालिका स्थित कनकाई सामुदायिक वन उपभोक्ता समुहले शुक्रबार वनको २४ औं टोल प्रतिनिधि भेला सम्पन्न गरेको छ ।

कन्काई नगरपालिकाका नगरप्रमुख राजेन्द्रकुमार पोखरेलको प्रमुख अतिथ्यतामा सुरुङ्गा खानेपानी तथा सरसफाई उपभोक्ता समूहको सभाकक्षमा वनसँग प्रत्यक्ष जोडिएका ३ हजार ४१७ घर धुरी सदस्य रहेको वन समुहका १७ बटै टोलका टोल प्रतिनिधिहरु र सल्लाहकार समेतको उपस्थितिमा टोलभेला सम्पन्न भएको हो ।

भेलामा वनका अध्यक्ष ख्याम ओलीले आर्थिक बर्ष २०८१/२०८२ मा समुहबाट संचालन गरिएका विभिन्न योजना तथा कार्यक्रम प्रस्तुत गर्नु भएको थियो । त्यस्तै अध्यक्ष ओलिले आगामी आर्थिक बर्ष २०८२ / २०८३ को बार्षिक निति तथा कार्यक्रम प्रस्तुत गर्दै वजेट निर्माण गर्दा वन संरक्षण , संवर्धन , तथा विकासमा कुल बजेटको ५० प्रतिशत छुट्याई बाँकी रहेको बजेटलाई १०० प्रतिशत मानी सोही अनुरुप वजेट निर्माण गरिएको बताउनु भयो ।

त्यसैगरी वन समुहका कोषाध्यक्ष श्रीप्रसाद खरेलले समुहमा बार्षिक रुपमा वन पैदावर , गैह्र वन पैदावर तथा आर्थिक बर्ष २०८१/२०८२ को बैक तथा नगद मौजातबाट समेत आम्दानि हुने २०८२/२०८३ को अनुमानित ४ करोड ३६ लाख २९ हजार छ सय छब्बीस रुपैयाँ बराबरको कार्ययोजना समेत समेटिएको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
आन्तरिक लेखा परिक्षण समितिको संयोजकसमेत रहेका कोषाध्यक्ष खरेलले विभिन्न सल्लाह सुझाव सहितको आन्तरिक लेखा परीक्षण प्रतिवेदन सभामा पेश गर्नुभएको थियो ।

भेलाले अध्यक्ष अोली र कोषाध्यक्ष खरेलबाट प्रस्तुत भएका प्रतिवेदनमा व्यापक छलफल गरी सर्वसम्मतले पारित गरेको संस्थाका कार्यलय सचिव नेत्र भट्टराईले जानकारी गराउनु भयो ।
कार्यक्रममा सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले वनले ल्याएका कार्यक्रमहरू राम्रो रहेको भन्दै अझ नागरिकहरू सचेत हुने खालका थप कार्यक्रमहरू ल्याउन अनुरोध गर्नुभएको थियो । त्यसैगरी नगर प्रमुख पोखरेलले वनले ल्याएका कतिपय कामहरू नगरसँगको साझेदारीमा समन्वय गरी गर्न सकिने , सामूहिक कार्यक्रमहरूको लागि नगरले सम्बोधन गर्ने , त्यसैगरी सामुदायिक वनले सुरु गरेको पर्यापर्यटनको हिसाबले महत्त्वपूर्ण योजना बिज्ञान पार्कका लागी पनि नगरले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
कार्यक्रममा विशिष्ट अतिथि कनकाई नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष बलराम राई (प्रताप) , कनकाई सबडिभिजन वनका तर्फबाट सुरेश कुमार खनाल , त्यसैगरी सल्लाहकारहरु भिष्म मैनाली , नारायणप्रसाद ओली , हरिभक्त सिटौला लगायतले विभिन्न सल्लाह सुझाव सहितको शुभकामना मन्तब्य राख्नुभएको थियोे ।
भेलामा कनकाई नगरपालिका ३ का कार्यवाहक अध्यक्ष कृष्णमाया भुजेल , वडा सदस्य अनिल गोयल , कनकाई सबडिभिजन वन कार्यालयका प्रतिनिधि खगेन्द्र निरौला , सल्लाहकार सूर्यप्रसाद उप्रेती , ख्याम कार्की लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा उपस्थित सबैलाई स्वागत वन समुहका उपाध्यक्ष ललितवहादुर कार्कीले गर्नुभएको थियो भने कार्यक्रमको संचालन समुहकी सचिव मान्ता काफ्ले खरेलले गर्नुभएको थियोे ।
