ठोस खबर , ४ मंसिर / अन्तर्राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा कनकाइमा अन्तर माध्यमिक विद्यालय स्तरिय नृत्य प्रतियोगिता भएको छ ।

कनकाई नगर बाल संजालको आयोजना, कन्काई नगरपालिकाको समन्वय सहकार्य र कारितास नेपालको सहयोगमा बिहिबार कनकाई उद्योग वाणिज्य सङ्घ कनकाई ३ सुरुङ्गामा आयोजित अन्तर माध्यमिक विद्यालय स्तरीय नृत्य प्रतियोगितामा फक्ताङलुङ अंग्रेजी विद्यालय प्रथम भएको छ ।

नगरका आठवटा निजी तथा सामुदायिक विद्यालयहरूबाट सहभागिता रहेको प्रतियोगितामा फक्ताङलुङ अंग्रेजी विद्यालय प्रथम, देवकोटा अंग्रेजी विद्यालय द्वितीय , भृकुटी माध्यमिक विद्यालय तृतीय र हरिकुल मावि सान्त्वना भएका प्रतियोगिताका निर्णायक द्वय अनिस विश्वकर्मा र अनिषा न्यौपानेले घोषणा गर्नुभएको थियो ।

प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने विद्यालयहरूलाई क्रमश नगद १० हजार , ७ हजार , ५ हजार, ३ हजार साथै ट्रफी र प्रमाणपत्र कार्यक्रमका अध्यक्ष विजय तिवारी , कार्यक्रम संयोजक विजय घिमिरे तथा अतिथिहरुले प्रदान गर्नुभएको छ । त्यसैगरी प्रतियोगितामा सहभागी सबै विद्यालयलाई प्रमाणपत्र प्रदान गरिएको छ ।

कार्यक्रममा अन्तर्राष्ट्रिय बालअधिकार दिवसको शुभकामना दिदै प्रमुख अतिथि कनकाई नगरपालिकाका नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले आज आफूहरूले नेतृत्व गरिरहेको नगरपालिका भोलिका दिनमा आजका बालबालिकाहरूले नेतृत्व गर्नुपर्ने भएकाले भोलिका दिनमा आफूले नेतृत्व गर्ने नगरपालिका कस्तो बनाउने भन्ने कुरा आजैदेखि ध्यान दिएर अघि बढ्नको लागि अनुरोध गर्नुभएको छ । उहाँले भोलि आफूले नेतृत्व गर्नुपर्ने नगरपालिका आजैदेखि देशमै कसरी उत्कृष्ट नगरपालिकाको रुपमा प्रस्तुत गराउने भन्ने विषयमा ध्यान दिँदै सोही अनुरुप कार्य गर्न समेत सुझाउनुभएको छ ।


कार्यक्रममा विशिष्ट अतिथिहरू कन्काई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद न्यौपाने कन्काई वडा नम्बर २ का वडा अध्यक्ष प्रताप राई कन्काई नगर बाल सन्जालका पूर्व अध्यक्ष अभिषेक मिश्र लगायतले अन्तर्राष्ट्रिय बाल दिवसको शुभकामना व्यक्त गर्नुभएको थियो ।

कन्काई नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष भीष्मभूषण सिटौला विभिन्न विद्यालयका शिक्षक प्रतिनिधि सहयोगी संस्थाकारितास नेपालका प्रतिनिधि लगायतको आतिथ्यता रहेको कार्यक्रममा शिक्षक मदन डाँगी, विद्यार्थीहरू एन्जल खनाल , समृद्धि पौडेल लगायतले अप्रतियोगी गीत तथा नृत्य प्रस्तुत गर्नुभएको थियो ।

कन्काई नगर बाल सन्जालका अध्यक्ष विजय तिवारीको अध्यक्षता भएको कार्यक्रमको औचित्यमाथि प्रकाश कनकाई नगरपालिकाका बालकल्याण अधिकारी उमानाथ ढकालले पार्नुभएको थियो । कार्यक्रममा उपस्थित सबैलाई स्वागत कनकाई नगर बाल सञ्जालको सदस्य निक्षा निरौलाले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन नगर बाल संजालका सचिव रिजन तिम्सिनाले गर्नुभएको थियो ।