इन्टरलक, ब्लक, कंक्रिट उद्योग व्यवसायिक सङ्घ झापाको अध्यक्षमा अधिकारी

ठोस खबर , ५ मंसिर / इन्टरलक, ब्लक , कंक्रिट उद्योग व्यवसायी सङ्घ झापाको अध्यक्षमा एबीसी कंक्रिट एण्ड कन्ट्रक्सन प्रालि कनकाईका सञ्चालक टिकाराम अधिकारी सर्वसम्मत चयन हुनुभएको छ ।

जिल्ला भरिका ३५ वटा उद्योगका व्यवसायीहरु सहभागी संघको शुक्रबार झापाको कनकाई नगरपालिका दुई स्थित धार्मिक एवं पर्यटकीय क्षेत्र धनुषकुटीमा आयोजित प्रथम साधारण सभाबाट अधिकारी अध्यक्षमा सर्वसम्मत चयन हुनुभएको हो । अधिकारी यस अघि संघको प्रारम्भिक समितिको समेत अध्यक्ष रहनुभएको थियो ।
त्यसैगरी साधारण सभाबाट सङ्घको उपाध्यक्षमा झलकबहादुर गौतम र मणि राई , महासचिवमा टिकाराम गौतम, सचिवमा धर्मेन्द्र सुवेदी, कोषाध्यक्षमा प्रकाश बिष्ट र सदस्यहरूमा भक्त राई , उमेश उपरकोटी, निशान पौडेल, कैलास कन्दङवा र भूपेन्द्र दाहाल सर्वसम्मत चयन हुनुभएको छ ।
सर्वसम्मत रूपमा चयन भएको समितिलाई निर्वाचन समितिका संयोजक रेवत भट्टराई सदस्य द्वय राजु उप्रेती र सूर्य श्रेष्ठले शुक्रबार नै शपथ ग्रहण गराउँदै प्रमाणपत्र समेत हस्तान्तरण गर्नुभएको छ ।
सभामा प्रारम्भिक समितिका अध्यक्ष तथा कार्यक्रमका अध्यक्ष टिकाराम अधिकारीले सङ्घको प्रारम्भिक समितिको वार्षिक कार्यक्रमहरू समेत समेटिएको अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । त्यसैगरी सभामा प्रारम्भिक समितिका कोषाध्यक्ष प्रकाश बिष्टले समितिको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । दुवै प्रतिवेदन बन्द सत्रमा हलले पारित गरेको छ ।

कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि कनकाई नगरपालिकाका नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले शुभकामना मन्तव्य राख्दै हामीले हाम्रो बुतामा उभिनको लागि , देशलाई स्वावलम्बी बनाउनको लागि , देश भित्रकै सामग्रीहरु प्रयोग गरेर उत्पादन हुने सामग्रीहरू प्रयोग गर्नु पर्ने बताउनु भयो । उहाँले इन्टरलक , ब्लक लगायतका सामग्रीहरु हाम्रै देशको गिटी , हाम्रै देशको बालुवा , हाम्रै देशको सिमेन्ट प्रयोग गरेर उत्पादन हुने र ती सामग्री प्रयोग गरेर निर्माण गरिने क्षेत्रमा हाम्रै देशका युवाहरुले रोजगारी पाउने भएकोले कन्काई नगरपालिकाले यस अघिदेखिनै यस्ता उद्योगहरूलाई प्राथमिकतामा राखेर काम गर्दै आएको र अरुले पनि त्यसरीनै प्राथमिकतामा राखेर देशलाई आत्मनिर्भर बनाउन अनुरोध गर्नुभयो । त्यसैगरी प्रमुख अतिथि पोखरेलले व्यवसायीहरूले उत्पादन गरेका सामग्रीहरू प्रयोग गरिदिरहँदा व्यवसायीहरुले पनि उच्च गुणस्तरीय सामग्रीहरू उत्पादन गर्नको लागि अनुरोध गर्नुभयो ।

कार्यक्रममा विशिष्ट अतिथिहरू कन्काई नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष रोशन सुवेदी , वडा नं २ का वडा अध्यक्ष बलाराम राई (प्रताप), निर्माण व्यवसायी सङ्घ झापाका महासचिव पुष्पराज निरौला , कन्काई उद्योग वाणिज्य संघका कार्यकारी अध्यक्ष जन कार्की , लगायतले अमूल्य सल्लाह सुझाव सहितको शुभकामना मन्तव्य राख्नुभएको थियो ।
निर्माण व्यवसायी सङ्घ झापाका सदस्य दिनेश मैनाली , व्यवसाय सहयोगी दुर्गा निरौला , शिवम सिमेन्टका प्रतिनिधि विश्वास खतिवडा , जेष्ठ उद्योगी विष्णु काफ्ले , डिल्लीरमण खतिवडा लगायतको अतिथ्यता रहेको कार्यक्रमको औचित्यमाथि प्रकाश समितिका महासचिव टिकाराम गौतमले पार्नु भएको थियो । कार्यक्रममा उपस्थित सबैलाई स्वागत समितिका उपाध्यक्ष झलकबहादुर गौतमले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन समितिका सचिव धर्मेन्द्र सुवेदीले गर्नुभएको थियो ।
