ठोस खबर / झापाको कनकाई नगरपालिका ३ सुरुङ्गामा रहेको भगवती बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २५ औँ बार्षिक साधारण सभा सम्पन्न भएको छ ।
झापाको कनकाई नगरपालिका ३ सुरुङ्गामा रहेको भगवती बचत तथा ऋण सहकारी संस्थाको रजत महोत्सव सँगै स्थापना दिवस र २५ औँ वार्षिक साधारण सभा आइतबार कनकाई नगरपालिका ३ स्थित कनकाई उद्योग वाणिज्य सङ्घको सभा हलमा गरिएको हो ।

झापाको तत्कालीन सुरुङ्गा गाविस वार्ड नं ५ मा २०५७ सालमा माओवादी जनयुद्ध चरम उत्कर्षमा पुगी यस क्षेत्रका सबै किसिमका आर्थिक कारोबार गर्ने बैंक तथा वित्तीय संस्थाहरु सुरुङ्गा छाडेर अन्यत्र गइरहेको बेला यस क्षेत्रमा आर्थिक चलायमान कायम राख्न यहाँका शिक्षक , बुद्धिजीवी , समाजका अगुवा तथा व्यापारीहरू समेत गरि २५ जनाले प्रतिव्यक्ति १० हजारका दरले शेयर रकम जम्मा गरी २०५७ साल मङ्सिर ७ गते बुधबार विधिवत दर्ता गरी सुरु गरिएको भगवती बचत तथा ऋण सहकारी संस्था लिमिटेडले कहिले सहज त कहिले असहज परिस्थितिको सामना गर्दै २५ वर्षमा सहज अवतरण गर्दै रजत महोत्सव , २५ औँ वार्षिक साधारण तथा स्थापना दिवस मनाएको हो ।
स्थापना दिवसका दिनपारेर आयोजना गरिएको २५ औँ वार्षिक साधारण सभा तथा रजत महोत्सवमा विशेषगरी २५ औँ साधारणसभा आज गरिएको र वर्षैभरका सबै कार्यक्रमहरु रजत महोत्सव विशेष रहने कार्यक्रमका अध्यक्ष तथा भगवती बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष युवराज संग्रौलाले जानकारी दिनुभयो ।

भगवती सहकारी संस्थाका संस्थापक अध्यक्ष तथा सल्लाहकार समितिका संयोजक तिलचन्द्र उप्रेतिको प्रमुख अतिथितामा भएको कार्यक्रममा अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका अध्यक्ष युवराज संग्रौलाले भगवती सहकारी सहकारीको मूल्य मान्यता र सिद्धान्तको अक्षरंश पालना गर्दै सहकारी ऐन , नियम , विनियम , विभागका निर्देशन , राष्ट्रिय सहकारी नियम प्राधिकरणद्वारा जारी निर्देशनहरू , सञ्चालक समिति तथा साधारण सभाका निर्णयहरूको पालना गर्दै निरन्तर अघि बढिरहेको जानकारी गराउनुभयो । उहाँले समुदायमा आधारित सदस्य केन्द्रित संस्था भएकोले आफ्ना सदस्यहरूको आर्थिक, सामाजिक, सांस्कृतिक नैतिक अनि व्यावसायिक क्षेत्रको उत्थानमा क्रमश संस्था सफल बन्दै गएको र संस्थालाई अझ समय सापेक्ष रुपमा आधुनिकरण गर्दै अगाडि बढाउन सेवा सुविधाहरु थप गर्दै लैजानका लागि सम्पूर्ण सेयर सदस्यहरुलाई आआफ्नो ठाउँबाट निरन्तर रुपमा संस्थालाई नियमित सहयोग पुर्‍याउन अपिल गर्नुभयो ।

सभामा अध्यक्ष संग्रोलाले संस्थामा रहेका विद्यमान नीति तथा कार्यविधिहरू ऋण व्यवस्थापन कार्यविधि २०८२ संशोधन , बचत परिचालन कार्यविधि २०८२ संशोधन , सेयर सदस्य राहत वितरण कार्यविधि २०८२ संशोधन , धितो मूल्याङ्कन सम्बन्धी कार्यविधि २०८२ नवीन , मानव संशाधन व्यवस्थापन कार्यविधि २०८२ संशोधन र आर्थिक प्रशासन नियमावली २०८२ पुनर्लेखन तथा संशोधनका लागि प्रस्ताव राख्दै संस्थाले गर्दै आएका कार्यक्रमहरू आर्थिक गतिविधि तथा भावी योजनासहितको कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।

त्यस्तै सभामा अध्यक्ष संग्रौलाले संस्थाले सदस्य केन्द्रीत विभिन्न सेवा सुविधाहरू ल्याएको र ती सेवा सुविधा प्राप्त गर्न सदस्यले न्यूनतम शेयर , मासिक बचत नियमित , राहत कोषमा योगदान र ऋणसेवा लिएको भए सो समेत नियमित भएको हुनुपर्ने बताउनुभयो ।

सभामा आन्तरिक लेखा सुपरिवेक्षण समितिका सदस्य कुलबहादुर बस्नेतले विभिन्न सल्लाह सुझावहरू सहितको आन्तरिक लेखा परीक्षण प्रतिवेदन २०८२ प्रस्तुत गर्नुभएको थियो ।
सभाको बन्द सत्रमा अध्यक्षको प्रतिवेदनमा शेयर सदस्य लिला भेटवाल र भक्तिप्रसाद संग्रौलाले राखेको जिज्ञासा माथि अध्यक्षले थप प्रष्ट पार्नुभएको थियो। बन्दसत्रमा राखिएका अध्यक्षको प्रतिवेदन र लेखा परीक्षण प्रतिवेदन सभामा बृहत छलफलपछि पारित भएको भगवती साकोसका व्यवस्थापक महेन्द्र सापकोटाले जानकारी दिनुभयो ।

कार्यक्रममा साकोसका आन्तरिक लेखा सुपरिवेक्षण समितिका संयोजक लीलाप्रसाद उप्रेतीको गत कार्तिक ७ गते असामयीक निधन भएपछि रिक्त भएको खाली पदको पदपूर्तिका लागि जनार्दन उप्रेतिको संयोजकत्वमा डा. पुण्यप्रसाद पौडेल र टेकनारायण संग्रौला सदस्य रहेको निर्वाचन समितिले निर्वाचन प्रक्रिया अनुरूप आन्तरिक लेखा सुपरिवेक्षण समितिको संयोजकमा बल्लभकुमार गौतमलाई निर्वाचित गरिसकेको हुँदा सभामा गौतमलाई आन्तरिक लेखा परीक्षण समितिको संयोजक घोषणा गर्दै निर्वाचन समितिका संयोजक जनार्दन उप्रेतीले शपथ ग्रहण गराएर प्रमाणपत्र समेत प्रदान गर्नुभएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि तिलचन्द्र उप्रेती , विशेष अतिथि खेमप्रसाद प्रसाई , अतिथि डा. पुण्यप्रसाद पौडेल लगायतले शुभकामना मन्तव्य राख्नुभएको कार्यक्रममा उपस्थित सबैलाई स्वागत संस्थाका उपाध्यक्ष त‍ोमप्रसाद बाह्रकोटीले गर्नुभएको थियो । कार्यक्रम सञ्चालन संस्थाका सचिव नरेन्द्र प्रसाद फुयालले गर्नुभएको थियो ।