दैलेख , २३ मंसिर / दैलेखमा एक छोरीले आफ्नै बुबाको ज्यान लिएकी छन्। नौमुले गाउँपालिका–५ गजमालीकी २७ वर्षीया तिर्सना रामजालीले आफ्ना ६५ वर्षीय बुबा धनबहादुर रामजाली मगरमाथि चिर्पट प्रहार गरेको प्रहरीले जानकारी दिएको छ।

घरायसी विवादको क्रममा तिर्सनाले चिर्पटले प्रहार गर्दा धनबहादुर गम्भीर घाइते भएका थिए। घाइते अवस्थामै उनलाई प्राथमिक स्वास्थ्य केन्द्र नौमुलेमा पुर्याइएको भए पनि उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरीले जनाएको छ।

बुबाको हत्या प्रकरणमा संलग्न तिर्सनालाई सोमबार इलाका प्रहरी कार्यालयको टोलीले पक्राउ गरी हिरासतमा लिएको छ।

घटनाको सम्बन्धमा थप तथ्य अनुसन्धान प्रक्रिया अघि बढाएको प्रहरीले जनाएको छ।