काठमाडौं , २६ मंसिर /नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो संस्करणको फाईनल खेल भोली शनिबार हुँदैछ । 

कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा दिउँसो ३ः३० बजे हुने फाइनल खेलमा साविक उपविजेता सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्नेछन्। सुदूरपश्चिमले पहिलो क्वालिफायरमा विराटनगरलाई ७७ रनले हराउँदै उपाधि नजिक पुगेको हो ।

लुम्बिनीले पनि दोस्रो क्वालिफायरमा विराटनगरलाई नै ४० रनले पाखा लगाउँदै फाइनलमा स्थान सुरक्षित गरेको हो। पहिलो क्वालिफायरमा सुदूरपश्चिमसँग पराजित भएको विराटनगरले दोस्रो क्वालिफायर खेल्ने मौका पाएको थियो । 

एनपिएलको विजेताले एक करोड १० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ। दोस्रो हुने टोलीले ५१ लाख, तेस्रो टोलीले रु २५ लाख र चौथो १५ लाख रुपैयाँ प्राप्त गर्नेछ । नेपाल क्रिकेट संघको आयोजनामा मङ्सिर १ गते शुरू भएको प्रतियोगितामा आठ टोलीको सहभागिता रहेको थियो ।