ठोस खबर , ८ पुस /शान्ति सुरक्षालाई मध्यनजर गर्दै झापाको कन्काई नगरपालिकाले इलाका प्रहरी कार्यालय सुरुङ्गालाई गाडी प्रदान गरेको छ ।

ईलाका प्रहरी कार्यलय सुरुङ्गाको गाडी जेनजी अन्दोलनको क्रममा आगजनीमा परेपछि उत्पन्न भएको सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै कनकाई नगरपालिकाले नगर उपप्रमुख आशा शर्मा शिवाकोटीले प्रयोग गर्दै आएको मे १ झ १२२ नम्बरको सरकारी गाडी सोमबार नगर परिसरबाट औपचारिक रूपमा इलाका प्रहरी कार्यालय सुरुङ्गालाई हस्तान्तरण गरेको हो ।

गाडी हस्तान्तरण गर्दै नगरप्रमुख राजेन्द्र कुमार पोखरेलले शान्ति–सुरक्षा नागरिकको पहिलो आवश्यकता भएको उल्लेख गर्दै स्थानीय सरकार प्रहरीसँग सधैं सहकार्य गर्न तयार रहेको बताउनुभयो । उहाँले “कनकाई नगर क्षेत्रको शान्ति सुरक्षा मजबुत बनाउनु साझा दायित्व रहेको र कठिन परिस्थितिमा खटिने सुरक्षाकर्मीको कार्यक्षमता अभिवृद्धि गर्नु स्थानीय सरकारको कर्तव्य भएको हुदा यस गाडीले प्रहरीको गस्ती र सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने विश्वास रहेको वताउनु भयो ।

प्रहरीको कार्यसम्पादनमा सहजताको लागि दिएको बताउँदै नगर प्रमुख पोखरेलले यस अघि पनि प्रहरीलाई सवारी साधन दिएको र आवश्यक इन्धन उपलब्ध गराउँदै  आएपनि जेनजी आन्दोलनका क्रममा सवारी जलेर नष्ट भएपछि पुनः यो सवारी दिएको बताउनु भयो । नगर प्रमुख पोखरेलले नगरका भौतिक संरचना र सवारी साधन सवैको सम्पत्ती भएकाले त्यसलाई संरक्षण गर्नसमेत सवैमा आग्रह गर्नुभयो ।  

इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रमुख सुवास ढुङ्गानाले सवारी नहुदा प्रहरीलाई कार्य सम्पादन गर्न कठिन भईरहे पनी दुखले कार्य सम्पादन गरिरहेको बताउँदै प्रहरीको समस्या बुझेर नगरले सवारी साधन उपलब्ध गराएको भन्दै नगरपालिकालाई धन्यवाद दिनुभएको छ । 

सवारी हस्तान्तरण कार्यक्रममा उप–प्रमुख आशा शर्मा शिवाकोटी, प्रमुख प्रशासकीय अधिकृत नारायण न्यौपाने, वडाध्यक्षहरु, कार्यपालिका सदस्यसहित जनप्रतिनिधि, कर्मचारीलगायतको सहभागीता रहेको थियो ।