कनकाई १ र ३ तुलसीबारीमा जारी वडा स्तरीय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश

ठोस खबर , १३ पुस / न्यु रेलिमाई युवा क्लवकाे आयाेजना तथा गर्ग फाउन्डेसनको सहआयाेजनामा कनकाई नगरपालिका ५ तुलसीबारीमा जारी वडास्तरीय टि-२० क्रिकेट प्रतियोगितामा वडा नम्बर १ र ३ फाइनलमा प्रवेश गरेका छन् ।
देवकोटा आधारभूत विद्यालयको खेलमैदानमा जारी प्रतियोगितामा आईतवार भएक दुई सेमिफाइनल खेलमा आ-आफ्नो खेलमा जित निकाल्दै कन्काई नगरपालिका वडा नम्बर १ र ३ फाईनलमा प्रवेश गरेका हुन ।
सेमिफाइनलको पहिलो खेल वडा नम्बर २ र ३ बिच भएको थियो । उक्त खेलमा वडा नं. ३ नौ रनले विजयी भएको छ ।
पहिले ब्याटिङ गरेको वडा नम्बर ३ ले निर्धारित २० ओभरको खेलमा १३३ रन जोडेको थियो । १३४ रनको मध्यम लक्ष्य लिएर जवाफी ब्याटिङमा उत्रिएको कनकाई २ ले निर्धारित २० ओभरमा १२४ रन मात्रै जोडेपछि कनकाई ३ नौ रनले विजयी हुदै फाईनलमा प्रवेश गरेको हो ।
कनकाई ३ र २ बीचको खेलमा उत्कृष्ट खेल प्रदर्शन गरेका कनकाई तिनका खेलाडी प्रनिश बिमली म्यान अफ द म्याच घोषित हुँदै ट्रफी सहित नगद १ हजार पुरस्कार प्राप्त गरेका छन् ।
त्यस्तै आजै भएको कनकाई नगरपालिका वडा नम्बर १ र ९ बिचको दोस्रो सेमिफाइनल खेलमा कनकाई १ आँठ विकेटको जित निकाल्दै फाइनलमा प्रवेश गरेको छ ।
पहिले ब्याटिङ गरेको वडा नम्बर ९ लाई १६ ओभर चार बलमा समेट्दै ४५ रन दिएको कनकाई नगरपालिका एक ४६ रनको झिनो लक्ष्य लिएर जवाफी ब्याटिङमा मैदानमा उत्रिएको थियो । कनकाई एकले उक्त झिनो लक्ष्य ४ ओभर ५ बल मै पुरा गर्दै फाइनलको यात्रा तय गरेको हो ।
कनकाई १ र ९ बीचको खेलमा कनकाई एकका खेलाडी मौसम सापकोटा म्यान अफ द म्याच घोषित हुँदै ट्रफी सहित नगद एक हजार पुरस्कार प्राप्त गरेका छन् ।
उपाधिको लागि कनकाई १ र ३ बीच प्रतिस्पर्धा हुने प्रतियोगिताको फाइनल खेल यही पुष १५ गते दिनको १२ बजे देवकोटा आधारभूत विद्यालयको खेलमैदानमा हुने प्रतियोगिताको सहआयोजक संस्था गर्ग फाउन्डेसनका संस्थापक रोशन चुडालले जानकारी दिनुभएको छ ।
प्रतियोगितामा प्रथम हुने टिमले नगद ४५ हजार ५५५ रुपैँया र दोस्रो हुने टिमले नगद २५ हजार ५५५ रुपैँया साथै विजेता उपविजेता दुवैले ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्ने र विधागत तर्फ प्रतियोगिता अवधिभरका उत्कृष्ट खेलाडी लाई ट्रफी र नगद ३ हजार , उत्कृष्ट बलरलाई ट्रफी र नगद २ हजार , त्यस्तै उत्कृष्ट ब्याट्सम्यानलाई ट्रफी र नगद २ हजार पुरस्कार प्रदान गरिने आयोजक न्यु रेलिमाई युवा क्लवका अध्यक्ष भुपालमानसिंह कार्कीले बताउनु भएको छ ।
