ठोस खबर , १५ पुस / कनकाई नगरपालिका ५ तुलसीबारीमा आयोजित वडा स्तरीय टि-ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधी वडा नम्बर ३ ले उठाएको छ ।

न्यु रेलीमाई युवा क्लबको आयोजना तथा गर्ग फाउन्डेसन नेपालको सहआयोजनामा पुस १० गतेबाट देवकोटा आधारभुत विद्यालयको खेलमैदान तुलसीबारीमा आयोजित टि-ट्वान्टी क्रिकेट प्रतियोगिताको मङ्गलबार सम्पन्न फाइनल खेलमा वडा नम्बर १ लाई ६ विकेटले हराउँदै वडा नम्बर ३ ले उपाधि उठाएको हो ।

प्रतियोगिताको फाईनल खेलमा टस जितेर पहिले व्याटिङ्मा उत्रिएको कनकाई १ ले २० ओभर खेल्दै ९ विकेटको क्षतिमा ८५ रन बनाएको थियो । जसको लागि क्याप्टेन समेत रहेका वडा नम्बर १ का खेलाडी केशव चौधरीले ३२ बल खेल्दै सर्वाधिक २४ रन जोडेका थिए ।

८६ रनको झिनो लक्ष्य लिई जवाफी ब्याटिङमा मैदान उत्रिएको कनकाई ३ ले ४ विकेटको क्षतिमा १४ ओभर १ बल खेल्दै लक्ष्य चुमेको थियो । जितको लागि कनकाई ३ का खेलाडी सञ्जय अग्रवालले ३२ बल खेल्दै सर्वाधिक ३६ रन जोडेका थिए ।

जित सँगै कनकाई नगरपालिका ३ ले नगद ४५ हजार पाँचसय पच्पन्न , ट्रफी , मेडल र प्रमाणपत्र हातमा पारेको छ । उपविजेता कनकाई १ ले नगद रु. २५ हजार पाँच सय पच्पन्न , ट्रफी , मेडल र प्रमाणपत्रमै चित्त बुझाएको छ ।


प्रतियोगितामा विजेता तथा उपविजेतालाई आयोजक न्यु रेलीमाई युवा क्लबका अध्यक्ष भुपाल मानसिंह कार्की , सहआयोजक गर्ग फाउन्डेसन नेपालका संस्थापक रोशन चुँडाल , कनकाइ नगरपालिका ५ का वडाध्यक्ष कृष्णबहादुर राई लगायत समापन समारोहका अतिथिहरूले पुरस्कार वितरण गर्नुभयो ।

फाइनल खेलको म्यान अफ दि म्याच विजेता टिमका सर्वाधिक रन जोड्न सफल सञ्जय अग्रवाल घोषित भए । उनलाई प्रतियोगिताका सबै खेलको म्यान अफ दी म्याचको पुरस्कार सौजन्यकर्ता स्वतन्त्र मजदुर यातायात भलाई मञ्चका अध्यक्ष पदम पौडेलले नगद १ हजार र ट्रफी प्रदान गर्नु भयो ।

विधागत तर्फ प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी कनकाई १ का मौसम सापकोटा घोषित हुँदै नगद ३ हजार , ट्रफी र मेडल हातपारे । प्रतियोगिताको उत्कृष्ट ब्याट्सम्यान कनकाई १ कै रिजन चौहान घोषित भए भने उत्कृष्ट बलर प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी प्रतियोगिताभर १२ विकेट आफ्नो नाममा लिन सफल कनकाई १ का खेलाडी मौसम सापकोटा घोषित भए । सर्वोत्कृष्ट ब्याट्सम्यान र सर्वोत्कृष्ट बलर दुबैलाई जनही नगद २ हजार र ट्रफी प्रदान गरिएको छ ।

प्रतियोगिताको औपचारिक समापन समारोहका प्रमुख अतिथि झापा क्षेत्र नम्बर ४ का संघीय सांसद एलपी साँवा लिम्बुले शुभकामना मन्तव्य राख्दै समाजमा रहेका सामाजिक क्लबहरूले सक्रिय हुँदै यसरी क्रिकेट, भलिबल , फुटबल लगायतका खेलहरू आयोजना गरिदिँदा खेलसँग जोडिएका खेलाडीहरू र दर्शकहरु सहभागी हुने हुँदा यसले समाजलाई क्रियाशील बनाइरहने बताउनुभयो । उहाले समाज क्रियाशील नहुँदा अराजकता र डिप्रेसन तर्फ समाज गहीरहेको अस्थामा प्रतियोगिता आयोजक न्यु रेलीमाई युवा क्लब र सहआयोजक गर्ग फाउन्डेसन नेपालेको क्रियाशीलताले समाजलाई जागरुक र उत्साहित बनाइरहेको भन्दै आयोजक परिवारलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

प्रतियोगिताको समापन समारोहकै अवसरमा भर्खरै मात्र सम्पन्न एनपीएल क्रिकेट प्रतियोगितामा विराटनगर किङ्सको टिममा छनौट भएका कनकाई नगरपालिका ३ निवासी खेलाडी आयुष न्यौपानेलाई आयोजकले कनकाईकै गौरवको रुपमा लिँदै सम्मानसमेत गरेको छ ।

आयोजक न्यु रेलीमाई युवा क्लबका अध्यक्ष भुपाल मानसिंह कार्कीको अध्यक्षतामा भएको प्रतियोगिताको औपचारिक समापन समारोहमा कनकाई ५ का वडा अध्यक्ष कृष्णबहादुर राई , सामाजिक व्यक्तित्वहरू शेरबहादुर थापा , खेम कार्की , श्याम ओली लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा कनकाई नगरका जनप्रतिनिधिहरू , विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरू , शैक्षिक एवं सामाजिक व्यक्तित्वहरूको आतिथ्यता रहेको थियो ।