झापामा मृत हात्ती फेला

ठोस खबर , २२ पुस / झापाको बुद्धशान्ति गाउँपालिका ३ मा एक मृत हात्ती फेला परेको छ ।
बुद्धशान्ति ३ का एक कृषकको खेतमा जंगली हात्ती मृत फेला परेपछि मंगलवार विहानै स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
मेचीनगर नगरपालिका र बुद्धशान्ति गाउँपालिकाको सिमास्थित कालिका सिमसार जाने बाटोमा स्थानीय लालबहादुर रसाईलीको खेतमा फेला परेको उक्त जंगली हात्तीको दारा भने नभएको अवस्थामा फेला परेको डिभिजन वन कार्यालय झापाका प्रमुख नथुनी यादवले बताउँनुभयो ।
हात्ती के कारणले मरेको हो भन्ने वारेमा थप अनुसन्धान गर्नका लागि कोशीटप्पु बन्यजन्तु संरक्षणबाट वन विज्ञ टोलीलाई बोलाइसकिएको डिभिजन वन कार्यालय प्रमुख यादवले बताउँनुभयो । हात्तीको दाह्रा नपलाएको प्रारम्भिक अनुसन्धानले देखाएको र घाँउ चोट समेत नदेखिएकोले खानेकुरामा विष मिलाएको हुनसक्ने आशंका गरिएको वन कार्यालयका प्रमुख यादवले बताउँनुभयो ।
अहिले डिभिजन वन कार्यालय र प्रहरीको टोली घटनास्थलमा पुगेर आवश्यक मुचुल्का उठाउने कार्यहरु गरिरहेको छ । इलाका प्रहरी कार्यालय बुधवारेका प्रमुख प्रहरी नायव निरिक्षक चन्द्र राउत सहितको प्रहरी टोलीपनि घटनास्थलमा पुगेर अनुसन्धान थालेको जनाएको छ । झापामा पछिल्लो पटक मानव हात्ती द्धन्द्धका कारण बर्षेनी दर्जन वढी मानव र हात्तीको मृत्यु हुदै आइरहेको छ । यसपटक समेट एक जंगली हात्तीको मृत्यु भएको छ ।
