ठोस खबर , १५ माघ / बिर्तामोड–४ लालीगुराँस भक्तबारी टोलस्थित गुरुप्रसाद–डिकमाया फाउन्डेसनद्वारा सञ्चालित स्नेहा माया घरका जेष्ठ नागरिकलाई खाद्यान्न सामग्री वितरण गर्दै प्रेस सेन्टर झापाले आफ्नो २२औँ स्थापना दिवस मनाएको छ।

स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रेस सेन्टरका निवर्तमान केन्द्रीय सदस्य लिलाराज झापाली , केन्द्रीय सदस्य राजु पाठक , निवर्तमान प्रदेश सदस्य उद्धव पुरी , सिएम शर्मा , झापा जिल्ला अध्यक्ष पुष्ष खड्का , प्रेस सेन्टर झापाका पदाधिकारी तथा सदस्यहरूको उपस्थितिमा स्नेहा माया घरमा आश्रित जेष्ठ नागरिकलाई दैनिक उपभोग्य खाद्यान्न सामग्री सहयोग गरिएको हो।

कार्यक्रममा बोल्दै प्रेस सेन्टर झापाका अध्यक्ष पुष्प खड्काले समाजका असहाय, अशक्त तथा जेष्ठ नागरिकप्रति सहानुभूति र सहयोग गर्नु नै संस्थाको सामाजिक दायित्व भएको बताए। उहाले आगामी दिनमा पनि यस्ता सामाजिक तथा मानवीय कार्यलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरे।

गुरुप्रसाद–डिकमाया फाउन्डेसनद्वारा सञ्चालित स्नेहा माया घरले लामो समयदेखि बेसहारा जेष्ठ नागरिकको सेवा, संरक्षण तथा हेरचाह गर्दै आइरहेको छ। फाउन्डेसनले सहयोगप्रति प्रेस सेन्टर झापाप्रति आभार व्यक्त गरेको छ।

स्थापना दिवसलाई औपचारिक समारोहभन्दा पनि सेवा र मानवीय भावनासँग जोडेर मनाइएको कार्यक्रमले स्थानीय स्तरमा सकारात्मक सन्देश प्रवाह गरेको सहभागीहरूले बताएका छन्।