ठोस खबर , १९ माघ / झापाको कनकाई नगरपालिका ७ मा रहेको नवजागरण सामाजिक एकता क्लबको आयोजनामा विद्यार्थी लक्षित चार दिवसीय नमुना नगरसभा अभ्यास कार्यक्रम सम्पन्न भएको छ ।

कनकाई नगर बाल सन्जालको सहकार्य तथा कनकाई नगरपालिकाको आर्थिक सहयोगमा माघ १५ गतेदेखि १८ गतेसम्म कनकाई नगरपालिकाको सभाहलमा आयोजित नमुना नगरसभा अभ्यास कार्यक्रमको माघ १९ गते सोमबार एक औपचारिक कार्यक्रम गरी समापन गरिएको हो ।

नमुना नगरसभा अभ्यासमा कन्काई नगरपालिकाभित्र रहेका सामुदायिक तथा साथै निजी विद्यालयहरूबाट विद्यार्थीहरूको सहभागिता रहेको थियो । नमुना नगरसभा अभ्यासमा प्रशिक्षण प्रशिक्षक प्रजेस खनालले दिनुभएको थियो ।


प्रशिक्षार्थीहरूले आफूले सिकेको नमुना नगरसभाको अभ्यास समापन कार्यक्रममा प्रस्तुत गरेर देखाएका थिए ।

कार्यक्रममा सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र कुमार पोखरेलले
विद्यार्थीहरूले समापन समारोहमा प्रस्तुत गरेको नमुना नगर अभ्यासको प्रशंसा गर्दै सुरुसुरुमा कनकाई नगरपालिकाले गर्ने गरेको नगरसभा भन्दा उत्कृष्ट नगरसभा अभ्यास गरेर देखाएको बताउनु भयो । यसै बीच उहाँले कनकाई नगरसभामा भने हालसम्म पक्ष विपक्ष भएर बहुमतले पारित गर्नुपर्ने अवस्था नआएको र नगरसभामा हुने निर्णयहरु सर्वसम्मतले हुने गरेको समेत जानकारी गराउनु भयो ।

तेस्तै कार्यक्रममा सम्बोधन गर्दै कनकाई नगर उपप्रमुख आशा शर्मा शिवाकोटीले आजका विद्यार्थीहरूले नै भोलि हरेक क्षेत्रमा प्रतिनिधित्व गर्ने भएकाले विद्यार्थीहरूमा यस किसिमको ज्ञान हुनु आवश्यक रहेको र नवजागरण सामाजिक एकता क्लबले तिनै विद्यार्थीहरूको लागि नमुना नगरसभा जस्तो महत्वपूर्ण कार्यक्रम आयोजना गरी विद्यार्थीहरूलाई व्यवस्थित नगरसभा सञ्चालन गर्ने विधि समेत सिकाएकोमा हार्दिक धन्यवाद ज्ञापन गर्नुभयो ।

कनकाई नगर बालकल्याण अधिकारी उमानाथ ढकालले चार दिवसिय नगरसभा अभ्यासमा चार दिन सम्म बिद्यार्थीले के के सिके , तालिममा के कस्ता गतिविधि भए भन्नेबारे कार्यक्रममा जानकारी गराउनु भयो ।

समापन समारोहमा कन्काई नगरपालिकाको निमित्त प्रशासकीय अधिकृत जमुना कट्वाल , वडा अध्यक्ष , वडा सदस्य , विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि हरूको अतिथिता रहेको थियो ।


नवजागरण सामाजिक एकता क्लबका अध्यक्ष रिजन तिम्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रमको औचित्यमाथि प्रष्ट पार्दै उपस्थित सबैलाई स्वागत क्लबका कोषाध्यक्ष लक्ष्मी अधिकारीले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन क्लबका सचिव श्रीप्रसाद गौतम साथै कनकाई नगर बाल सञ्जालका अध्यक्ष आदित्य बुढाथोकीले गर्नुभएको थियो ।