ठोस खबर , ९ फागुन / विद्यार्थीदेखि लिएर जेष्ठ नागरिकसम्मलाई सम्मान गर्दै गणपति सत्संग समूहको आठौं वार्षिक उत्सव सम्पन्न भएको छ ।

झापाको कनकाई नगरपालिका ३ सुरुङ्गामा २०७४ साल महाशिवरात्रीका दिन वैदिक सनातन धर्मको संरक्षण तथा सम्बर्धन गर्नुका साथै सत्संगद्वारा सत्यलाई सिरोधार्य गर्दै आफू र समाजलाई सत्मार्गमा हिँड्ने र हिँडाउने उद्देश्यका साथ स्थापना भएको श्री गणपति सत्संग समूहले शनिवार कनकाई ३ स्थित प्यारागन एकाडेमिमा समूह स्थापनाको आठौं वार्षिक उत्सव सम्पन्न गरेको हो ।

वार्षिक उत्सवको अवसर पारेर समूहले गणपति सत्संग समूह क्षेत्रभित्र बाट २०८१ को एसइमा उत्कृष्ट अङ्क ल्याउने रिजन शिवाकोटी लाई सम्मान गरेको छ। शिवाकोटी २०८१ को एसइमा कनकाई माध्यमिक विद्यालयबाट परीक्षा दिई ३.८४ जीपीए ल्याएर उत्तीर्ण भएका थिए। त्यसैगरी समूहले आफ्नो क्षेत्रभित्रका ७० वर्ष माथिका १२ जना जेष्ठ नागरिकहरूलाई सम्मान गरेको छ भने समूहको वर्ष उत्कृष्ट सदस्यको रुपमा दिव्या निरौलालाई सम्मान गरेको छ । त्यस्तै अघिल्लो कार्यसमितिमा रहेर सफलतापूर्वक कार्यकाल सम्पन्न गरी बिदा हुनुभएका गोमा उप्रेती र मिना सुवेदीलाई समेत समुहले सम्मान गरेको छ । सम्मानित सबैलाई कार्यक्रमका प्रमुख अतिथि सतासिधाम गोलोक गोवर्धन गौशालाका संरक्षक नन्दकिशोर भारद्वाज महाराज , कार्यक्रमका अध्यक्ष भरत शिवाकोटी साथै कार्यक्रमका अतिथिहरूले दोसल्ला र मायाको चिनोबाट सम्मान गर्नुभएको थियो ।

कार्यक्रममा गणपति सत्संग समूहका अध्यक्ष तथा कार्यक्रमका अध्यक्ष भरत शिवाकोटीले समूहको वार्षिक प्रगति विवरण प्रस्तुत गर्दै आफ्नो कार्यकालमा समूहलाई सक्रिय बनाउँदै समूहका तर्फबाट विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरूमा सहभागी हुने , संस्थाको उद्देश्य अनुरूप वैदिक सनातन धर्मको संरक्षण तथा सम्बर्धनका निमित्त धार्मिक क्षेत्रहरूको अध्ययन अवलोकन भ्रमण साथै सत्संगमा सहभागी हुने, समूह क्षेत्रभित्र रहेका जेष्ठ नागरिकहरूलाई सम्मान गर्ने , समूह क्षेत्रभित्रका सदस्यहरूको घरमा सत्संग साथै भजन किर्तन निरन्तर गर्ने लगायतका कामहरु गर्दै आएको जानकारी गराउनुभयो।
उहाँले गणपति समूहले २०८२ साल जेठ १५ गतेका दिन प्यारागन विद्यालयको सभाहलमा वडामा रहेका वैदिक सनातनी कीर्तन मण्डली तथा समूहलाई थप बलियो बनाउन आवश्यक ठानी वडाभित्र रहेका दर्जनभन्दा बढी मण्डलीको उपस्थितिमा कार्यपत्रसहित अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको तर प्राय सबैको निष्क्रियता र अनिच्छाका कारण बलियो छाता संस्था निर्माण गर्न नसकेको जानकारी गराउँदै अहिले पनि उक्त आवश्यकता झनै पेचिलो भएको अनुभूत गर्दै निस्वार्थ रुपमा सबै संगठित हुनुपर्ने कुरामा आफ्नो समुह प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले यसको लागि कसैले अहिले अगुवा गरे आफ्नो समूह सारथी बन्ने अथवा सबैले साथ दिए आफ्नो समूहले नेतृत्व गरेर अगाडि बढ्ने समेत जानकारी दिनुभयो । त्यसैगरी उहाँले कार्यक्रममा समूहको भावी योजनाहरू बारे जानकारी गराउँदै समाजमा संस्कारयुक्त असल परिवार निर्माण र भूमिकामा सकारात्मक सन्देश र ऊर्जाका निमित्त आफ्नो टोलबाट एकजना असल बुहारीलाई सम्मान गर्ने सहित यश अघि नियमित गर्दै आएका कार्यहरूलाई निरन्तरता दिँदै जाने बताउनुभयो । शिवाकोटीले कार्यक्रममा अध्यक्षको प्रतिवेदन साथै विधान नियमावली समेत प्रस्तुत गर्नुभएको थियो ।
तेस्तै समूहका कोषाध्यक्ष देवी दाहालले संस्थाको आर्थिक वर्ष २०८१/०८२ को आर्थिक गतिविधि समेटिएको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि सतासिधाम गोलो गोवर्धन गौशालाका संरक्षक नन्दकिशोर भारद्वाज महाराजले सुख सुविधा दुनियाका धेरै देशमा भएपनि देवस्थल र शान्तिको देश नेपाल भएको बताउँदै हाम्रा नीति , संस्कार , संस्कृति र धर्मलाई गणपति जस्तै संस्थाले जगेर्ना गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले गणपतिले गरेको कार्यको प्रशंसा गर्दै निरन्तर यस्ता कार्य गर्दै गए आफ्नो क्षेत्रबाट पनि साथ र सहयोग रहने प्रतिबद्धता जनाउनुभयो ।

त्यस्तै कार्यक्रममा सम्बोधन गर्दै कनकाई नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष युवराज चौलागाईंले गणपतिले स्थापनाकालदेखिनै समाजमा ऐनाको काम गर्दै संस्कार र संस्कृतिको संवर्धन गर्ने काम गरेको बताउनुभयो । उहाँले अध्यक्षको मन्तव्यमा अध्यक्षले राखेको संस्था दर्ता र नवीकरणको प्रक्रियामा यस किसिमका संस्थालाई आर्थिक भार बढीरहेको समस्याबारे बोल्दै यस किसिमका संस्थामा यो बिषय समस्याकै रुपमा देखिएको हुँदा यस विषयलाई आफूले नगरसभामा उठाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा कनकाई नगरपालिका वडा नम्बर ३ का वडा सदस्य अनिल गोयल, कन्काई माध्यमिक विद्यालयका प्रअ कर्णबहादुर डाँगी, सम्मानित व्यक्तित्व घनश्याम बराल लगायतले मन्तव्य राख्नुभएको थियो भने गोलोक गोवर्धन गौशाला सतासिधामबाट घनश्याम खनाल, कनकाई सामुदायिक वनका अध्यक्ष ख्याम ओली , दुर्गा पञ्चायन भजन किर्तन समूहको अध्यक्ष बिना तिम्सिना लगायतको आतिथ्यता रहेको थियोे ।
कार्यक्रममा उपस्थित सबैलाई स्वागत समूहको उपाध्यक्ष बबिता बस्नेतले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन समुहका सचिव वासुदेव निरौलाले गर्नुभएको थियो ।